
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले असोज १ र २ गते ‘पावर समिट–२०२५’ आयोजना गर्ने भएको छ । इप्पानले ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ पावर समिट आयोजना गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मेलन गरेर इप्पानले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य राखेर पावर समिटको आयोजना गर्न लागिएको जनाएको छ ।
सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने ऊर्जा विकास मार्गचित्र, २०८१ अघि सारेको सन्दर्भमा आगामी असोजमा अन्तर्राष्ट्रियस्तरको पावर समिट आयोजनाको तयारी गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
सरकारले नीतिले २५ वर्षअघि ऊर्जा उत्पादनमा आएसँगै निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी पुगेको छ । बहुदलीय प्रजातन्त्रपछिको लगानीमैत्री नीतिका कारण २५ वर्षको अवधिमा निजी क्षेत्रले झन्डै दुई हजार ९०० मेगावाट विद्युत् उत्पादन गरेको इप्पानको दाबी छ । अहिले मुलुकको जडित क्षमता कुल तीन हजार ६०२ मेगावाट पुगेको छ ।
निजी क्षेत्रले अहिलेसम्म करिब १३ खर्ब रुपैयाँ लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा ५० खर्ब रुपैयाँ लगानी गर्नका लागि तयारी गरिरहेको छ । हाल निजी क्षेत्रकै नेतृत्वमा चार हजार २०० मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा छन् । यस्तै, चार हजार १०० मेगावाटका आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा छन् ।
समिटमा नेपालका प्रधानमन्त्री, विशिष्ट विदेशी व्यक्तित्वहरू, विज्ञहरू र सरोकारवालाहरूको उपस्थिति रहने इप्पानले जनाएको छ । यसअघि, सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ मा गरी आठपटक सम्मेलन सम्पन्न भइसकेको छ ।
समिटको मुख्य उद्देश्य ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा सहयोग पुर्याउने र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्नुपर्ने आवश्यकता र सम्भावनाबारे नीतिगत बहस गर्ने रहेको इप्पानले जनाएको छ ।
यसका लागि ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, सरकारी र गैरसरकारी निकाय, परामर्शदाता कम्पनी, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत सरोकारवाला र विज्ञहरूलाई एउटै थलोमा भेला हुने इप्पानले जनाएको छ ।
समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवाला गरी एक हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
समिटमा ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषय उठान हुनेछन् । हरित र स्वच्छ ऊर्जा, विद्युत् र कार्बन व्यापार, वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षा, अन्तरदेशीय पूर्वाधारमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेट–जिरो उत्सर्जन लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकासजस्ता विषयमा गहिरो छलफल गरिने इप्पानले जनाएको छ ।
साथै, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र त्यसको न्यूनीकरणका लागि बनाइने नीति, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवबारे पनि समिटमा महत्त्वपूर्ण छलफल हुने इप्पानले जनाएको छ ।