site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको सत्तारूढ पार्टीका सांसदको माग– वेस्ट ब्यांकलाई कब्जा गरौँ

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीका वरिष्ठ सांसदसहित मन्त्रीहरूले प्यालिस्टाइनी क्षेत्र वेस्ट ब्यांकलाई कब्जा गरेर इजरायलमा मिलाउन आग्रह गरेका छन् ।

सरकारमा रहेका १५ लिकुड मन्त्री र सभामुख अमिर ओहानाले हस्ताक्षर गरेको पत्रमा जुलाई २७ मा संसद्को ग्रीष्मकालीन सत्र समाप्त हुनुअघि नै वेस्ट ब्यांकलाई औपचारिकरूपमा इजरायलमा मिलाउनुपर्ने माग गरिएको टाइम्स अफ इजरायलले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रमा भनिएको छ, “इरान र उसका समर्थकहरूको सामना गर्न इजरायलले इरानमा आक्रमण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिपछि देशको मुटुमा अर्को नरसंहार रोक्न र आन्तरिक अस्तित्वको खतरा हटाउन वेस्ट ब्यांक कब्जा गर्ने कार्य पूरा गर्नुपर्छ ।”

पत्रमा अगाडि भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिक साझेदारी, समर्थन र सहयोगले अघि बढ्नका लागि यो समय उपयुक्त भएको छ र यसले इजरायलको पुस्तौँसम्मको सुरक्षा सुनिश्चित गर्नेछ ।”

इजरायलले सन् १९६७ मा ६ दिने युद्धको समयमा जोर्डनबाट वेस्ट ब्यांक कब्जा गरेको भए पनि औपचारिकरूपमा देशमा गाभेको छैन ।

इजरायलले सन् २०२० मा ट्रम्पको अघिल्लो कार्यकालमा जारी गरिएको तथाकथित शान्ति योजनाको हिस्साको रूपमा कब्जा गर्ने दिशामा कदम चालेको थियो । तर, संयुक्त अरब इमिरेट्स र बहराइनसँगको सम्बन्ध सुधार गर्न पछाडि हटेको थियो ।

बुधबारको पत्रलाई इजरायलको धार्मिक सियोनिज्म पार्टीका अध्यक्ष र अर्थमन्त्री बेजालेल स्मोट्रिचले प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले आदेश दिए तत्काल वेस्ट ब्यांकमा इजरायली सार्वभौमसत्ता लागु गर्न तयार हुने बताएका छन् । उनी वेस्ट ब्यांकको मामिलामा रक्षा हेर्छन् ।

टाइम्स अफ इजरायलबाट ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्