
काठमाडौं । ललितपुर महानगरपालिकाले एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमाको प्रिमियम तिरिदिने भएको छ । बुधबार ललितपुर महानगर र स्वास्थ्य बिमा बोर्डबीच प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
नगरप्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी)को सयप्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो ।
महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गरेको थियो । यल स्वास्थ्य केन्द्रमार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् ।
महानगर प्रमुख महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । “महानगरले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो,” उनले भने ।
कोभिडको बेलादेखि नै महानगरले पाटन अस्पतालसम्म सहकार्य गर्दै आएको छ । पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि महानगरको सहयोग थियो । मेयर महर्जनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए ।
महानगर प्रवक्ता राजु महर्जनले महानगरबासीको स्वास्थ्यप्रति संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण निर्णय भएको बताए ।
उनले बिमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बिमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए । “यो अन्य ७५२ स्थानीय तहको लागि अनुकरणीण काम हो,” उनले भने ।