
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका अधिकारीहरूले न्युयोर्क सिटीका डेमोक्रेटिक मेयर उमेदवार जोहरान ममदानीको अमेरिकी नागरिकता खोस्ने सम्भावनाको संकेत दिएका छन् ।
यसैबीच, ट्रम्पले आफ्ना पूर्वसहयोगी एलन मस्कलाई कर छुट र साँघुरो अन्तरले पारित भएको खर्च विधेयकको विवादका बीच ‘पसल बन्द गरेर दक्षिण अफ्रिका फर्कन’ भनेका छन् । तर, के ट्रम्प प्रशासनसँग विदेशमा जन्मेका र अमेरिकामा ‘न्याचुरलाइज्ड’ ममदानी र मस्कको नागरिकता खोस्ने शक्ति छ ?
ममदानी र मस्कको आप्रवासन स्थिति के छ ?
३३ वर्षीय ममदानी युगान्डाको राजधानी कम्पालामा भारतीयमूलका अभिभावकको सन्तानको रूपमा जन्मेका थिए । उनी सात वर्षको उमेरमा न्युयोर्क सरे र सन् २०१८ मा अमेरिकी नागरिक बने ।
मस्कको जन्म सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा क्यानेडाली आमा र दक्षिण अफ्रिकी बाबुको सन्तानको रूपमा भएको थियो । १७ वर्षको उमेरमा उनी क्यानडा सरे, जहाँ उनी क्यानेडाली नागरिक पनि छन् ।
सन् १९९२ मा उनी पेन्सिल्भेनिया विश्वविद्यालयमा अध्ययन गर्न अमेरिका आए । सन् २०२३ मा प्रकाशित उनको जीवनीअनुसार, मस्क सन् २००२ मा अमेरिकी नागरिक बने ।
सन् २०२४ को अक्टोबरमा वासिङ्टन पोस्टले मस्कले अमेरिकामा आफ्नो करियर बिनाउचित कार्य अनुमति सुरु गरेको उल्लेख गरेको थियो, तर मस्कले यो अस्वीकार गरेका छन् । “मलाई वास्तवमा अमेरिकामा काम गर्ने अनुमति थियो,” मस्कले उक्त रिपोर्ट प्रकाशित भएको दिन एक्समा लेखे ।
“म जे–१ भिसामा थिएँ, जुन पछि एच १–बी मा परिवर्तन भयो,” उनले अर्को पोस्टमा लेखे । जे–१ भिसा विदेशी विद्यार्थीहरूका लागि अस्थायी भिसा हो, भने एच १–बी अस्थायी रोजगार भिसा हो ।
अमेरिकी नागरिक बन्न, व्यक्ति १८ वर्षभन्दामाथिको हुनुपर्छ र ग्रिन कार्ड धारकको रूपमा अमेरिकामा लगातार पाँच वर्ष वा अमेरिकी नागरिकसँग विवाहित भए तीन वर्ष बसेको हुनुपर्छ ।
ट्रम्प प्रशासनले ममदानीबारे के भनेको छ ?
रिपब्लिकन टेनेसीराज्यका प्रतिनिधि एन्डी ओगल्सले जुन २६ मा महान्यायाधिवक्ता पाम बोन्डीलाई पत्र लेख्दै आफूलाई लोकतान्त्रिक समाजवादी भन्ने जोहरान ममदानीमाथि उनको अमेरिकी नागरिकता खोस्ने प्रक्रिया (डिन्याचुरलाइजेसन)को छानबिन गर्न न्याय मन्त्रालयलाई आग्रह गरे ।
बोन्डीलाई लेखिएको पत्रको प्रति आफ्नो सामाजिक सञ्जाल खाता एक्समा पोस्ट गर्दै ओगल्सले लेखे, “जोहरान ‘लिटल मुहम्मद’ ममदानी एक यहूदी–विरोधी, समाजवादी, कम्युनिस्ट हुन् जसले न्युयोर्क सहरलाई ध्वस्त गर्नेछन् । उनलाई देश निकाला गर्नुपर्छ । त्यसैले म उनलाई डिन्याचुरलाइजेसन प्रक्रियाको विषय बनाउन माग गर्छु ।”
ओगल्सले ममदानीले ‘आतंकवादलाई सामग्री समर्थन गरेको लुकाएर’ अमेरिकी नागरिकता प्राप्त गरेको हुन सक्ने आधारमा छानबिन गर्नुपर्ने बताए ।
टेनेसी रिपब्लिकनले न्युयोर्क पोस्टमा प्रकाशित एक लेखसहितका रिपोर्टहरूलाई उद्धृृत गर्दै ममदानीले अमेरिकी नागरिक बन्नुअघि ‘आतंकवादसम्बन्धी अपराधमा दोषी ठहरिएका व्यक्तिहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको’ बताए । ओगल्सले ममदानीले ‘फ्री द होली ल्यान्ड फाइभ/माइ गाइज’ भन्दै र्याप गरेको उल्लेख गरे ।
“होली ल्यान्ड फाउन्डेसनलाई सन् २००८ मा विदेशी आतंकवादी संगठनको रूपमा चिनिएको हमासलाई लजिस्टिक समर्थन प्रदान गरेकोमा दोषी ठहर गरिएको थियो । फाउन्डेसनको दोषी नेतृत्वलाई ‘माइ गाइज’ भनी सार्वजनिक रूपमा प्रशंसा गर्नुले ममदानीले नागरिकता प्रक्रियामा आफ्नो सम्बद्धता वा सहानुभूति लुकाएको हो कि भन्ने गम्भीर चिन्ता उत्पन्न गर्छ,” ओगल्सले बोन्डीलाई लेखे ।
“यसबाहेक, ममदानीले हालै ‘ग्लोबलाइज द इन्टिफाडा’ भन्ने आतंकवाद–समर्थक नारा, जुन विश्वभर र अमेरिकी नागरिकमाथि हिंसात्मक आक्रमण विस्तार गर्ने आह्वान हो, अस्वीकार गर्ने अवसरलाई इन्कार गरेका छन्,” ओगल्सले लेखे ।
ममदानीले आप्रवासन र भन्सार प्रवर्तन संस्था (आईसीई)का मास्क लगाएका एजेन्टहरूलाई ‘हाम्रा छिमेकीहरूलाई देश निकाला गर्नबाट रोक्न’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार एक पत्रकार सम्मेलनमा यसबारे सोध्दा ट्रम्पले भने, “यदि ममदानीले आईसीई एजेन्टहरूलाई देश निकाला कार्य सञ्चालन गर्नबाट रोके, हामीले उनलाई पक्राउ गर्नुपर्छ ।”
“हामीलाई यो देशमा कम्युनिस्टको आवश्यकता छैन, तर यदि छ भने, म राष्ट्रको तर्फबाट उनलाई निकै सावधानीपूर्वक निगरानी गर्नेछु,” ट्रम्पले भने, “हामी उनलाई पैसा पठाउनेछौँ, हामी उनलाई सरकार चलाउन आवश्यक सबै कुरा पठाउनेछौँ ।”
ट्रम्पले ममदानी अवैध रूपमा अमेरिकामा रहेको भन्ने दाबीहरू उद्धृत गर्दै भने, “हामी सबै कुरा हेर्नेछौँ ।”
राष्ट्रपतिले वर्तमान न्युयोर्क मेयर एरिक एडम्स, जो डेमोक्रेटिक पार्टीका सदस्य पनि छन्, उनलाई समर्थन व्यक्त गरे ।
ममदानीले कसरी जवाफ दिए ?
ममदानीले मंगलबार ट्रम्पको टिप्पणीको जवाफमा आफ्नो एक्स खातामा एक वक्तव्य पोस्ट गरे । “अमेरिकी राष्ट्रपतिले मलाई पक्राउ गर्ने, मेरो नागरिकता खोस्ने, हिरासत शिविरमा राख्ने र देश निकाला गर्ने धम्की दिएका छन् । यो कुनै कानुन तोडेको कारणले होइन, बरु मैले आईसीईलाई हाम्रो सहरमा आतंक मच्चाउन नदिने अडान लिएको कारणले हो,” ममदानीले आफ्नो वक्तव्यममा लेखे ।
ममदानीले ट्रम्पको एडम्सको प्रशंसा ‘आश्चर्यजनक नभएको’ भन्दै थपे, “जब म्यागा रिपब्लिकनहरू सामाजिक सुरक्षा सञ्जाल ध्वस्त पार्ने, लाखौँ न्युयोर्कवासीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र श्रमिक परिवारहरूको खर्चमा आफ्ना अर्बपति दाताहरूलाई धनी बनाउने प्रयास गरिरहेका छन्, यस्तो बेला एरिक एडम्सले यो राष्ट्रपतिको विभाजन, विचलन र घृणालाई समर्थन गर्नु लज्जास्पद छ । मतदाताहरूले नोभेम्बरमा यसलाई पूर्ण रूपमा अस्वीकार गर्नेछन् ।”
ट्रम्प प्रशासनले एलन मस्कबारे के भनेको छ ?
टेस्ला र स्पेसएक्सका अर्बपति मालिक एलन मस्क एक समय ट्रम्पका प्रमुख सहयोगी र गत वर्षको राष्ट्रपति चुनाव अभियानका ठूला दाता थिए । तर ट्रम्पको ‘बिग ब्युटिफूल बिल’ले ट्रम्प र मस्कबीच सार्वजनिक विवाद सिर्जना गरेको छ ।
मस्कले यो विधेयकको अनलाइनमा बारम्बार आलोचना गरेका छन् र विधेयक पारित भएको जवाफमा नयाँ राजनीतिक पार्टी गठन गर्ने धम्की दिएका छन् ।
मंगलबार सिनेटले साँघुरो अन्तरले पारित गरेको वित्तीय विधेयकले मस्कलाई असर गर्नेछ, किनभने यसले सेप्टेम्बर ३० देखि विद्युतीय सवारीसाधन (ईभी) खरिदमा दिइने ७ हजार ५०० डलरसम्मको कर छुट अन्त्य गर्छ । यसले अमेरिकामा ईभीको उपभोक्ता मागमा उल्लेखनीय कमी ल्याउन सक्छ ।
सोमबार ट्रुथ सोसल पोस्टमा ट्रम्पले लेखे, “सब्सिडीबिना, एलनले सम्भवतः आफ्नो पसल बन्द गरेर दक्षिण अफ्रिका फर्कनु पर्नेछ । अब रकेट प्रक्षेपण, उपग्रह वा विद्युतीय कार उत्पादन हुने छैन र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ ।”
“हामीले सायद डोजलाई यसमा राम्रोसँग, गम्भीरतापूर्वक हेर्न लगाउनुपर्छ, ठूलो रकम बचत गर्न सकिन्छ !” ट्रम्पले थपे ।
यसमा उनले सरकारी दक्षता वृद्धि र सूचना प्रविधि स्तरोन्नति गर्ने उद्देश्यले मस्कले गठन गरेको र ट्रम्पको दोस्रो कार्यकालको सुरुमा नेतृत्व गरेको, तर मे ३० मा छोडेको सरकारी दक्षता विभागको सन्दर्भ दिए ।
मंगलबार, जब पत्रकारहरूले ट्रम्पलाई मस्कलाई देश निकाला गर्ने हो कि भनेर सोधे, उनले भने, “हामीले हेर्नुपर्छ । हामीले सायद एलनमाथि डोज लगाउनुपर्छ ।”
अमेरिकाले न्याचुरलाइज्ड नागरिकता कसरी खोस्न सक्छ ?
केही परिस्थितिमा, न्याचुरलाइजेसनद्वारा अमेरिकी नागरिक बनेकाहरूले आफ्नो नागरिकता गुमाउन सक्छन् । यो प्रक्रियालाई डिन्याचुरलाइजेसन भनिन्छ ।
यो तब हुनसक्छ जब प्राकृतिकीकृत नागरिकहरूले आतंकवाद, युद्ध अपराध, मानवअधिकार उल्लंघन, यौन अपराध वा प्राकृतिकीकरण धोकाधडी जस्ता निश्चित अपराधहरू गर्छन् । अर्थात् उनीहरूले धोका, गलत प्रस्तुति वा गैरकानुनी तरिकाले नागरिकता प्राप्त गरेका छन् ।
जुन ११ मा, न्याय मन्त्रालयले एक मेमो जारी गर्दै ‘डिन्याचुरलाइजेसनलाई प्राथमिकता दिने’ र ‘गैरकानुनी रूपमा प्राकृतिकीकरण प्राप्त गरेका वा महत्त्वपूर्ण तथ्य लुकाएर वा जानाजान गलत प्रस्तुति गरेर न्याय प्राप्त चुरलाइज्ड गरेका’ व्यक्तिहरूविरुद्ध नागरिक कारबाही सुरू गर्ने बताएको छ ।
मेमोमा भनिएको छ, “सिभिल डिभिजनले कानुनले अनुमति दिएका र प्रमाणले समर्थन गरेका सबै मामिलामा डिन्याचुरलाइजेसन कारबाहीहरूलाई प्राथमिकता दिनेछ र अधिकतम रूपमा अघि बढाउनेछ ।”
न्याचुरलाइज्ड नागरिकले अमेरिकाविरुद्ध देशद्रोहको कार्य गरेमा, विदेशी देशको सार्वजनिक पदमा उमेदवारी दिएमा वा विदेशी देशको सेनामा सामेल भएमा पनि नागरिकता गुमाउन सक्छन् ।
हालै, जुन १३ मा, न्याय मन्त्रालयले बाल यौन शोषण सामग्री संकलन र वितरणमा दोषी ठहरिएका बेलायती नागरिक एलियट ड्यूकको नागरिकता खोसिएको घोषणा गरेको छ ।
विज्ञप्तिमा, न्याय मन्त्रालयले ड्यूकले सन् २०१२ मा अमेरिकी सेनामा भर्ना भएको र जर्मनीमा सेवा गर्दा अनलाइनमा बाल यौन शोषण सामग्री प्राप्त र पठाउन सुरु गरेको बताएको छ ।
ड्यूकले सन् २०१३ को प्राकृतिकीकरण आवेदनमा यो अपराध उल्लेख गरेनन् । उनलाई सन् २०१४ मा बाल अश्लील सामग्री प्राप्त र राखेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
मस्क वा ममदानीको नागरिकता खोसिन सक्छ ?
विज्ञहरूका अनुसार, यो सम्भव छैन । “डिन्याचुरलाइजेसन केवल ती अवस्थाहरूमा सीमित छ जहाँ सरकारले उनीहरूको मूल आवेदनमा महत्त्वपूर्ण धोकाधडी भएको प्रमाणित गर्न सक्छ,” नेभाडा विश्वविद्यालय, लास भेगासका कानुन प्राध्यापक माइकल कागनले भने, “यो दुर्लभ तथा मस्क र ममदानी दुवैका लागि असम्भव छ । यो राजनीतिक विरोधीहरूलाई तर्साउन डिजाइन गरिएको गैरजिम्मेवार बयानबाजी जस्तो देखिन्छ ।”
अमेरिकामा डिन्याचुरलाइजेसनको इतिहास के छ ?
पछिल्ला केही दशकहरूमा अमेरिकाले न्याचुरलाइज्ड नागरिकहरूको नागरिकता विभिन्न अवसरमा खोसेको छ । डिन्याचुरलाइजेसनका घटनाहरू २०औँ शताब्दीको पहिलो आधामा, विशेषगरी दुई विश्वयुद्ध र पछि सोभियत संघसँगको शीतयुद्ध चलिरहँदा अधिक थिए ।
सन् २०१७ मा प्रकाशित द सभरेन सिटिजन पुस्तकका लेखक राजनीतिशास्त्री प्याट्रिक वेइलका अनुसार, सन् १९२६ देखि १९४० को मध्यसम्म हरेक वर्ष सयौँ व्यक्तिहरूको नागरिकता खोसिएको थियो ।
अमेरिकी सरकारले सन् १९१७ देखि १९२० र सन् १९४७ देखि १९५७ को दुई ‘रेड स्केयर’ अवधिमा, जब अमेरिकामा कम्युनिजमको डर अत्यधिक थियो, नागरिकता खोस्ने प्रयास बारम्बार गरेको थियो ।
यो समयमा प्राकृतिकीकरणद्वारा अमेरिकी नागरिकता प्राप्त गर्न निकै कठिन थियो । त्यस समयमा नागरिकता खोसिएकाहरूमा कम्युनिस्टहरू र नाजी समर्थकहरू समावेश थिए ।