
काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसबाट सामान खरिद गर्ने तर युक्रेनलाई सहयोग नगर्ने देशहरूबाट अमेरिकामा आयात हुने सामानमा ५०० प्रतिशत कर लगाउनेसम्बन्धी एक विधेयक सिनेटमा दर्ता गरेका छन् ।
उनको ‘रूस प्रतिबन्ध ऐन, २०२५’ नामक विधेयकलाई हालसम्म ८४ सांसदको समर्थन प्राप्त भएको अमेरिकी समाचार च्यानल एबीसी न्यूजसँगको कुराकानीमा उनले बताए ।
भारत र चीनले रूसको ७० प्रतिशत तेल खरिद गर्ने गरेको र यो तेल बिक्रीबाट प्राप्त रकम युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिने आधार भएको सिनेटर ग्राहमको भनाइ छ ।
यो विधेयकले अमेरिकी राष्ट्रपतिलाई भारत, चीन र अन्य देशहरूमाथि कर लगाउने अधिकार प्रदान गर्ने र यसको उद्देश्य विभिन्न देशहरूलाई रूसी राष्ट्रपति पुटिनको युद्ध नीतिलाई समर्थन गर्नबाट रोक्ने तथा उनलाई वार्ताको टेबलमा ल्याउने रहेको उनले बताए ।
अमेरिकी कांग्रेसमा प्रस्तावित यो विधेयक लागु भएमा रूसी तेल, प्राकृतिक ग्यास, पेट्रोलियम उत्पादन वा युरेनियम खरिद गर्ने देशहरूबाट आयातमा ५०० प्रतिशत कर लगाइनेछ ।
यसको प्रत्यक्ष प्रभाव भारत र चीनजस्ता एसियाली देशहरूमा पर्नेछ । भारत विश्वको तेस्रो ठूलो कच्चा तेल आयातक र उपभोक्ता हो । भारतले विदेशबाट दैनिक करिब ५१ लाख ब्यारेल कच्चा तेल खरिद गर्छ, जसलाई रिफाइनरीहरूमा पेट्रोल र डिजेलजस्ता इन्धनमा परिणत गरिन्छ ।
प्रस्तावित विधेयकमा के छ ?
रूस प्रतिबन्ध ऐन, २०२५ अमेरिकी कांग्रेसमा प्रस्तावित एक विधेयक हो । यसको उद्देश्य युक्रेनमाथिको रूसी आक्रमण र शान्ति वार्तामा सहभागी हुन रूसको अस्वीकारको जवाफमा रूसबाट कच्चा तेल र ग्याँसजस्ता महत्त्वपूर्ण वस्तुहरू खरिद गर्ने देशहरूमाथि ठूलो मात्रामा नयाँ प्रतिबन्ध लगाउनु हो ।
यो विधेयक अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अप्रिल २०२५ मा सिनेटमा पेस गरेका थिए । यो विधेयक हाल अमेरिकी सिनेटमा विचाराधीन छ र पारित हुन बहुमत तथा राष्ट्रपतिको स्वीकृति आवश्यक छ । ग्राहमले दाबी गरेका छन् कि राष्ट्रपति ट्रम्पले उनलाई यो विधेयक अगाडि बढाउन भनेका छन् ।
भारतमा कस्तो प्रभाव पर्छ ?
जब भारतका विदेशमन्त्री एस. जयशंकरसँग अमेरिकाले रूसबाट तेल आयातमा ५०० प्रतिशत कर लगाउने योजनाबारे प्रश्न सोधियो, उनले यो विषयले भारतका हितहरूलाई प्रभावित गर्न सक्ने भएकाले आफूहरू निरन्तर सिनेटर ग्राहमको सम्पर्कमा रहेको बताए ।
सन् २०२२ पछि भारत रूसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । मे २०२५ मा भारतले रूसबाट दैनिक करिब १९.६ लाख ब्यारेल कच्चा तेल आयात गरेको थियो, जुन पछिल्लो दश महिनाको उच्चतम स्तर हो ।
अन्तर्राष्ट्रिय व्यापार विश्लेषण कम्पनी केपलरको प्रारम्भिक तथ्यांकअनुसार भारतीय रिफाइनरी कम्पनीहरूले जुनमा रूसबाट दैनिक २० देखि २२ लाख ब्यारेल कच्चा तेल खरिद गरिरहेका छन् । यो दुई वर्षको उच्चतम आँकडा हो र यो इराक, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतबाट खरिद गरिएको कुल मात्राभन्दा बढी छ ।
थिंक ट्यांक सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयरको तथ्यांकअनुसार प्रतिबन्धहरू लागु भएदेखि मे २०२५ सम्म भारत रूसी कोइला र कच्चा तेलको दोस्रो ठूलो खरिदकर्ता हो । शीर्ष स्थानमा चीन छ । डिसेम्बर ५, २०२२ देखि मे २०२५ को अन्त्यसम्म, चीनले रूसको कुल कच्चा तेल निर्यातको ४७ प्रतिशत र भारतले ३८ प्रतिशत खरिद गरेको छ ।