site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
खबरदारे बा !
NIC Asia Banner ad
Argakhachi Cement Island Ad


त्यो बेला
फेसबुक थिएन, नेट थिएन
वाइफाइ थिएन
तर समाज चल्थ्यो, 
सम्बन्ध चल्थ्यो
किनभने, त्यो बेला थिए
खबरदारे बा
जो चारैतिर हिँडिरहन्थे
चिठीपत्र पुर्‍याउन
 
बिहान भालेको डाकसँगै उठ्थे
झुत्रो इस्टकोट,
च्यातिएको ढाकाटोपी
पिठ्युँमा झोला
हातमा भालाजस्तै लौरो
टुप्पोमा घुङरु 
जुन बज्थ्यो
त्योसँगै गाउँभरि फैलिन्थ्यो
एउटा अनौठो आवाज
‘खबरदारे हो...!’  
यसरी हामी सबैको ध्यान तान्थे
खबरदारे बाले 
 
चिठीको थैलो बोकेर
गाउँघरको दैलोदैलोमा
खबरदारे बा आउनु भनेको
कसैको खुसी, 
कसैको पीडा
र कसैको पर्खाइको उत्तर
आएजस्तो लाग्थ्यो
 
कहिल्यै थाकेको देखेनौँ
हामीले खबरदारे बालाई
न बिसाउने कुनै गुनासो थियो
न त लोभलालच

उनी एक्लै थिएनन्
उनले बोकेका हुन्थे
गाउँघरको भरोसा,
सहरबजारको खबर,
देशपरदेशको जीवनरेखा
 
आज मोबाइल छ
हाम्रो हातहातमा
फेसबुक छ, इन्टरनेट छ
तर छैन आज
त्यो आत्माको निःस्वार्थ सेवा
हराएको छ आज
खबरदारे बाको हातबाट
चिठी थाप्नुको मजा
 
तर, हिजोआज पनि
हिँडिरहेकै छन् खबरदारे बा
हाम्रो सम्झनाका गोरेटोहरूमा
मनका कुनामा
अझै गुन्जिन्छ उनको आवाज–
‘खबरदारे हो...!’
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्