
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । गठबन्धनमा एमाले इमानदार नदेखिएको उनको भनाइ छ ।
जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्तासँगको भेटमा उनले कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने यो अभियानमा जोडिन नखोजेको बताए ।
एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ । मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकामा अवरोध गरेको उनको आरोप छ ।
सांसद निधिले राजनीतिक प्रतिशोधका कारण नेताहरू एउटाले ल्याएको योजना अर्कोले ल्याउन नदिने वा अवरोध गर्नतर्फ लागेको आरोप लगाए । –न्युज एजेन्सी नेपाल