
काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध नेपालले दोस्रो मिनेटमै गोल व्यहोरेको छ । नेपालविरुद्ध घरेलु टिमकी डियोराखोन खबिबुल्लाइभाले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी हुन् ।
आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।
उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।
समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।
यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले पुग्दैन । यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमानुसार समूहबाट छानिने टोलीको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट गरिनेछ ।
अर्थात्, आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण छ ।