
काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपाल र उज्वेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ । उज्वेकिस्तानको तास्केनस्थित मिली रंगशालामा शनिबार (असार २१) भएको खेलको निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट हुने भएको हो ।
निर्धारित ९० मिनेटको खेलमा नेपालविरुद्ध घरेलु टिमकी डियोराखोन खबिबुल्लाइभाले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । लुडमिला काराचिकले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाइएकी थिइन् ।
२४औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै स्कोरलाई २–१ मा ल्याएकी थिइन् ।
तर, ३८औँ मिनेटमा नेपालकी सरस्वती हमालको ह्यान्ड हुँदा उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा उज्वेकिस्तानकी मफ्तुना सोयीमोभाले कुनै गल्ती नगरी बललाई जाली चुमाइन् ।
पहिलो हाफको इन्ज्युरी समयमा नोजिमा इर्गासेभाले दोहोरो पहेँलोपछि रातो कार्डको दर्शन गर्दै बाहिरिँदा उज्वेकिस्तान १० खेलाडीमा सीमित बनेको छ ।
दोस्रो हाफमा दुई गोल थपेपछि नेपाल खेलमा फर्किएको हो । सावित्राले ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएकी थिइन् । यसपछि थप गोल हुन सकेन ।
आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।
उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।
समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।