
काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध नेपाल बराबरीमा फर्किएको छ ।
उज्वेकिस्तानको तास्केनस्थित मिली रंगशालामा जारी खेलमा उज्वेकिस्तानले ७०औँ मिनेटसम्म ३–१ को अग्रता बनाएको थियो । तर, ७१औँ र ७३औँ मिनेटमा दुई गोल गर्दै नेपाल ३–३ को बराबरीमा फर्किएको हो ।
आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।
उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।
समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।