
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । उनले शनिबार (असार २१) सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिएका हुन् ।
मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।
“एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई ! यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद,” प्रधानमन्त्री ओलीले लेखेका छन् । रासस