
काठमाडौं । संकटा क्लबले एन्फा यू–१६ युथ लिगमा फराकिलो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा संकटाले जावलाखेल युथ क्लबविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।
संकटाको जितमा कप्तान पेम्बा तामाङले दुई गोल गरे । त्यसैगरी, करण भुल, सुजन बलाम्पाकी र प्रज्वलकुमार लेम्रेले समान एक–एक गोल गरे ।
खेलको १५औँ मिनेटमा करणले टोलीलाई अग्रता दिलाए । २४औँ मिनेटमा सुजनले अग्रतालाई दोब्बर बनाए । ३२औँ मिनेटमा प्रज्वलले गोल गर्दै टोलीलाई ३–० को अग्रतामा राखे । ६१औँ मिनेटमा पेम्बाले चौथो गोल गरे । यसको चार मिनेटपछि पेम्बाले पुनः गोल गर्दै अग्रतालाई ५–० को अवस्थामा पुर्याए ।
जितसँगे संकटाले लिगमा विजयी सुरुवात गरेको छ । लिगमा आफ्नो पहिलो खेलमा नै संकटाले तीन अंक जोडेको हो ।
संकटाले अब दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । खेल आगामी असार २४ गते (मंगलबार) ४ बजे हुने तालिका छ ।
पराजित जावलाखेलले दोस्रो खेल भोलि (असार २३ गते) विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । खेल बिहान १० बजे हुने तालिका छ ।