
काठमाडौं । रुसले मस्कोतर्फ आइरहेका चारवटा युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । रुसी हवाई रक्षा प्रणालीले शनिबार मस्कोतर्फ आउँदै गरेका चार युक्रेनी ड्रोन खसालेको हो ।
ड्रोन आक्रमणका कारण रुसको राजधानीको एक प्रमुख विमानस्थलले अस्थायीरूपमा उडान रोकेको थियो ।
सहरका मेयर मेयर सर्गेई सोब्यानिनले रुसका आपत्कालीन सेवाका कर्मचारीहरूले ड्रोन खसालिएका स्थानमा काम गरिरहेका बताएका छन् । तर, सम्भावित क्षतिबारे कुनै जानकारी नदिएको रोयटर्सको समाचारमा उल्लेख छ ।
रुसको रक्षा मन्त्रालयले हवाई रक्षा इकाइहरूले शनिबार साँझसम्मको पाँच घण्टाभन्दा बढी समयमा ४८ युक्रेनी ड्रोन नष्ट गरेका बताएको छ । तीमध्ये मस्को वरपरको क्षेत्रमा पाँच ड्रोन रहेको जसमध्ये दुईवटा मस्कोतर्फ आइरहेका थिए ।
युक्रेनको सीमामा रहेको ब्रायान्स्क क्षेत्रमा १७ र छेउछाउको ओर्योल क्षेत्रमा ११ ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।
सीमावर्ती बेलगोरोद क्षेत्रका गभर्नरले चार युक्रेनी ड्रोनले बस चालक र कार चलाइरहेका एक व्यक्तिलाई घाइते बनाएको बताए ।
यसअघिको रक्षा मन्त्रालयको प्रतिवेदनले शनिबार रातभर रुसमा ९४ ड्रोन नष्ट भएको र दिनको करिब ६ घण्टामा थप ४५ ड्रोन नष्ट भएको जनाएको थियो ।
रोयटर्सबाट ।