site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्ला पनि अब जोडिएको छ । चुवा खोलामा बेलिब्रिज बनेपछि दुर्गम हुम्ला पनि बाँकी देशसँग सडकमा जोडिएको हो । देशका ७७ वटै जिल्ला  मोटर चल्ने सडकबाट जोडिँदा राष्ट्रिय उत्साह र हर्षको विषय बनेको छ ।  चुवा खोलामा नेपाली सेनाले ३५ दिनभित्र ४ करोडको लागतमा ३५ दिनमा बेलिब्रिज बनाएको हो । सेनाका प्राविधिकलगायतका सुरक्षाकर्मी घन्यवाद र बधाईका पात्र भएका छन् । 

यसैले हुनुपर्छ सामान्य बेलिब्रिजको उद्घाटनका लागि पनि प्रधानमन्त्री खड्गप्रसाद ओली दलबलसहित गएका छन् । मौसमका कारण सुर्खेतमा रोकिएको भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीसहित लिएर गएका प्रधानमन्त्री ओली आशागरौँ हुम्ला पुगेर पुल उद्घाटन गर्न सफल हुनेछन् । राष्ट्रिय सडक सञ्जालमा जोडिएकोमा हुम्लावासीलाई बधाई !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेलिब्रिज उद्घाटनका लागि समेत ठूलै दलबलसाथ सानोतिनो पुलै बनाउने खर्च गरेर गएका प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री नहुँदै सुरुभएको कर्णाली करिडरको निर्माण भने अझै सम्पन्न हुनसकेको छैन । यसबीच करिब ५ वर्ष जति त ओली प्रधानमन्त्री नै भए । उनको दल नेकपा (एमाले) आधाभन्दा बढी समय सत्तामा नै रह्यो । 

यसैगरी अहिलेको सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) पनि पटकपटक सत्ताको केन्द्र वा सेरोफेरोमै रहे । तर, देशका सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गको सञ्जालमा जोड्नेजस्तो आधारभूत तर अत्यन्त महत्त्वपूर्ण योजनासमेत पूरा हुनसकेन । चुवा खोलाको बेलीब्रिजपछि पनि जिल्लाको सदरमुकामसम्म कच्ची सडक पुगेको न हो ।

प्रश्न उठ्छ - किन यति लामो समय लाग्यो त यस्तो आधारभूत सडक निर्माणमा पनि ? त्यस भेगको भौगोलिक विकटताका कारण सडक र पुलहरू बनाउन पक्कै कठिन हुन्छ । तर, शासकहरूले परियोजनाको उपादेयताअनुसार महत्त्व दिएको भए पक्कै पनि यही पुल अलि पहिले नै बन्ने थियो । राजनीतिक नेतृत्वमा देखिने उद्घाटनको भोक विकासलाई अगाडि बढाउन देखिएको भए कर्णाली करिडोर २६ वर्षमा पनि अधुरो पक्कै हुने थिएन ।

यसैगरी प्रधानमन्त्री स्वयं हेलिकोप्टर लिएर बेलिब्रिज उद्घाटन गर्ने जानुको पनि औचित्य पटक्कै सिद्ध हुनसक्दैन । एउटा सामान्य बेलिब्रिज त के कर्णाली करिडरकै उद्घाटनको अवसर भए पनि प्रधानमन्त्री ओलीले हेक्का राख्नुपर्थ्यो - अहिले देशले राजस्वबाट साधारण खर्च पनि धान्न सकिरहेको छैन । यस्तो अवस्थामा त प्रधानमन्त्री राज्यको ढुकुटीमा व्ययभार पर्न नदिन आफैँ उदाहरण बन्नुपर्ने होइन ? 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्