site stats
बाह्रखरी :: Baahrakhari
देश
एक महिनामा मनसुनजन्य विपद्का घटनाले कति भयो क्षति ?

काठमाडौं । यस वर्ष मनसुन सुरु भएपछिको एक महिनाको अवधिमा मनसुनजन्य विपद्का घटनाबाट १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, जेठ १५ गतेदेखि असार १३ गतेसम्मको अवधिमा भएका २६३ वटा मनसुनजन्य विपद्का घटनामा परी उनीहरूको ज्यान गएको हो ।

घटनामध्ये बाढीमा परी चारजना, भारी वर्षका कारण एकजना र चट्याङ लागेर सात जनाको मृत्यु भएको हो ।

यस अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ६३ जना घाइते भएको र ५११ परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्ष मनसुन सुरु भएपछिको एक महिनाको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८४ जनाको मृत्यु, दुई बेपत्ता र १०४ जना घाइते भएका थिए । त्यस अवधिमा एकहजार ५३२ परिवार विपद्का घटनाबाट प्रत्यक्ष प्रभावित भए ।

यस वर्ष (२०८२ साल) मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ (मे २९) मा नेपाल प्रवेश गरेको थियो । सामान्यतया नेपालमा मनसुन भित्रिने मिति जुन १३ हो । यस वर्ष मनसुन सुरु भएको दुई हप्ता मनसुन निष्क्रिय थियो । नेपाल प्रवेश गरेको २३ दिनपछि मात्र मनसुन देशभर फैलिएको थियो । 

मनसुन सुरु भएपछिको एक महिनामा अन्य विपद्का घटना आगलागीमा परी तीनजना, हावाहुरीमा परी एकजना, लेक लागेर चारजना, जनावरको आक्रमणमा परी आठजना र सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । 

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने, दिउँसो भन्दा रातमा पानी बढी पर्ने र गर्मीमा तापक्रम पनि औसतभन्दा बढी नै रहने पूर्वानुमान गरेको छ ।

पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै सरोकारवाला निकायसँग छलफल गरी ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तयार गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइसकेको छ ।

सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र राहत सामग्रीको भण्डारण, डोजर, स्काभेटरलगायतका हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्नेलगायत काम भएको प्राधिकरणले जनाएको छ । 

विपद्का घटनामा छिटो र प्रभावकारी प्रतिकार्यका लागि प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ गठन गरिएको छ । हालसम्म यसका दुईवटा बैठक सम्पन्न भइसकेका छन् । 

बैठकबाट राजमार्गमा आउन सक्ने सम्भावित अवरोध हटाउन आवश्यक हेभी इक्युपमेन्ट २४सै घण्टा तयारी अवस्थामा राख्ने, मनसुन अवधिभर बाढी, पहिरो, भारी वर्षा, पानीको उच्च बहावका कारण सडक र राजमार्गको यात्रामा हुने जोखिमलाई ध्यान दिँदै आवश्यकताअनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने लगायतको निर्णयसमेत गरिएको छ । 

यसैगरी, प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्यका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग छलफल गरी आपसी सहकार्यको मार्ग तय गर्ने काम गरेको छ ।

विपद्सम्बन्धी सूचनालाई छिटो र प्रभावकारीरूपमा आममानिससम्म पुर्‍याउने सन्दर्भमा नेपाल नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ, सार्वजनिक सेवा प्रशारण, नेपाल, सामुदायिक रेडियोको प्रसारकको संघ नेपाल, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, यातायात व्यवसायी महासंघलगायत निकायसँग अन्तरक्रिया गरी एकीकृत र समन्वयात्मक तवरबाट नागरिकलाई सुसूचित गराउने गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्