
काठमाडौं । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२’ सुकन्या वाइवा र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२’ भूपाल बस्नेतलाई प्रदान गरेको छ । सम्मानका साथ वाइवालाई नगद राशि २५ हजार १११ तथा बस्नेतलाई ५१ हजार एक रुपैयाँ प्रदान गरियो ।
आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेले सर्जकहरूलाई पुरस्कृत गर्दै योगमायाको व्यक्तित्व र उनको निष्ठा एवम् त्यागबारे चर्चा गरिन् ।
साहित्यकार श्रीओम रोदनले योगमायालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्छ भनेर आफूहरूले भन्दै आएको बताए ।
सम्मानित व्यक्तित्व वाइवाले नेपालीको मनभरि योगमाया छाएको बताउँदै पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेको चर्चा गरिन् ।
अर्का सम्मानित व्यक्ति बस्नेतले योगमायाको समाधिस्थल बारे बोले ।
पुरस्कारका संस्थापकहरू पवन आलोक र राजेश न्यौपानलगायतले योगमाया र योगमाया सम्मानको चर्चा गरे ।