site stats
बाह्रखरी :: Baahrakhari
विशेष
महँगो बन्दै चलचित्र,वार्षिक डेढ अर्ब लगानी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाली चलचित्रमा वार्षिक डेढ अर्ब लगानी हुँदै आएको छ । चलचित्र क्षेत्रमा आकर्षण बढ्दै गएपछि चलचित्रमा लगानी पनि बढेको हो । विदेशमा बस्ने नेपालीलेसमेत चलचित्रमा लगानी गर्नेक्रम बढेपछि चलचित्रको संख्यासँगै बजेटमा पनि बढोत्तरी भएको हो । 
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ७१ वटा चलचित्रले निर्माण इजाजत लिएका छन् । यही तथ्यांकका आधारमा यो वर्ष अनुमानित २१३ ले निर्माण इजाजत लिनेछन् । 
चलचित्र निर्माणका लागि यति नै खर्चिनु पर्छ भन्ने कुनै मापदण्ड छैन । त्यसैले बजेट हुनेले आफू खुसी लगानी गर्न सक्छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार भिडियो चलचित्र बनाउन न्यूनतम १५ लाख देखि कथानक चलचित्र बनाउन डेढ करोडभन्दा माथिसम्म खर्च हुने अनुमानित बजेट भर्ने गरेको पाइन्छ । “चलचित्र निर्माणका लागि यति नै बजेट लाग्छ भन्ने छैन । व्यक्ति र चलचित्र अनुसारको अनुमानित बजेट इजाजत फर्मभर्दा भरेको पाइन्छ,” चलचित्र विकास बोर्डका निर्माण शाखाका निर्माण अधिकृत गिरिश शर्मा भन्छन्, “निर्माणकै क्रममा लोकेशन, कलाकार परिवर्तन हुनसक्छ, छायांकनको समय लम्बिन सक्छ यस्तो हुँदा बजेट पनि बढ्दै जान्छ ।”
चलचित्र निर्देशक तथा निर्माता विकाश आचार्यका अनुसार व्यवसायिक हिसावले निर्माण गरिएका र बजारमा चलेका कलाकार लिएर चलचित्र बनाउँदा कम्तिमा पनि ७० लाख रुपैयाँ खर्च हुन्छ ।
एउटा चलचित्र निर्माणका लागि औसतमा ७० लाख खर्च हुँदा २१३ चलचित्र निर्माणका लागि एक अर्ब ४९ लाग्ने देखिन्छ । 
“बाहिर जति प्रचार भनेर गरिए पनि राम्रै कलाकार लिएर पब्लिसिटी गर्दा पनि ७० देखि ८० लाख लाग्छ,”चलचित्र निर्देशक ऋषी लामिछाने भन्छन्, “पछिल्लो समय विग बजेटका चलचित्र पनि बन्न थालेका छन् तिनको बजेट त निकै धेरै नै हुन्छ । त्यस्ता चलचित्रको बजेट भने औषत भन्दा निकै माथि हुन्छ ।”   
गतवर्ष नेपालमा ठूलो लगानीका चलचित्र बने । ‘प्रेम गीत’को कुल बजेट १ करोड ६५ लाख रहेको निर्माण पक्षले दाबी गरेको थियो भने ‘ड्रिम्स’को बजेट एक करोड २५ लाख रहेको भुवन केसीले बताउँदै आएका छन् । उसैगरी चलचित्र ‘क्लासिक’ बनाउन १ करोड २० लाख लागेको यसका निर्माताले बताएका थिए । 
अहिले बन्दै गरेका चलचित्र ‘लुट–२’ र ‘पुरानो डुङ्गा’ पनि ठूलै बजेटका चलचित्र हुन् । “लुट ३५ लाखमा सकेर पब्लिसिटिसहित ५५ लाख लागेकोथियो,” ‘लुट’ तथा यसको सिक्वेलका निर्देशक निश्चल बस्नेत भन्छन्,“ ‘लुट–२’ निर्माण बजेट डेढ करोड हो । ९/१० जना त अहिलेका स्टार कलाकार छन्, ३० प्रतिशत बजेट पारिश्रमिक मै खर्च हुन्छ ।”
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पुरानो डुङ्गा’को बजेट पनि एक करोड माथि छ । “हामी कलाकारलाई राम्रो पारिश्रमिक दिएर काम गलाउँछौं,” ‘पुरानो डुङ्गा’का निर्देशक रामबाबु गुरुङ भन्छन्, “यो चलचित्रको बजेट एक करोड १० लाख हो ।”
केही वर्ष यता लोकेशनमा समेत नेपाली चलचित्रले ध्यान दिन थालेपछि बजेट पनि बढ्न थालेको हो । नेपालकै  मुस्ताङ, खप्तड, तथा विदेशी भूमी अमेरिका, दुबई, अष्ट्रेलिया, बेलायतलगाायतका देशमा पनि छायांकन गर्न थालेपछि नेपाली चलचित्रको लागत बजेट बढ्न थालेको हो । 
केही समय अगाडि लागेको ‘सफर’ अमेरिकामा छायांकन गरिएको थियो भने दुईसाता अगाडि प्रदर्शनमा आएको ग्याङ्ग स्टार चलचित्र ‘द विनर’ पनि दुबई र अष्ट्रेलियामा छायांकन गरिएको थियो । अहिले छायांकन भइरहको मिलन चाम्सको ‘हेप्पी डेज’का अधिकांश दृश्य लन्डनकै हुने बताइएको छ । 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १३:५१
प्रतिक्रिया दिनुहोस्