site stats
बाह्रखरी :: Baahrakhari
कला
५१ र १०१ दिन मनाउने फेसन, हललाई पैसा तिरेर सिनेमा टिकाउने होड

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा सिनेमा प्रदर्शनको ५१ र १०१औँ दिन मनाउने ‘ट्रेन्ड’ चलेको छ । एउटा मात्र हलमा किन नहोस्, सके १०१ र नसके ५१औँ दिन मनाउने ट्रेन्ड विकास भएको छ ।

चलचित्र व्यापारिक रूपमा कमजोर हुन्छन् । तर, १०१ दिनसम्म चलाइन्छ । कसरी ? दीपकराज गिरी निर्माताले आफैँ शो टिकाउने गरेको बताउँछन् । रिलिजको पहिलो दिनदेखि नै टिकट किन्ने खेल सुरु हुने गरेको उनी सुनाउँछन् ।

“रिलिज भएकै दिन टिकट किन्नुुहुन्छ । रिलिजकै दिन फेक दर्शक हुन्छन् । कर्पोरेट टिकटको नाममा टिकट काटिन्छ,” दीपक भन्छन्, “विकास बोर्डमा ५० लाख कलेक्सन भएको हुँदैन, दुई करोड कमाएको हल्ला हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्माता तथा निर्देशक आत्मरतिमा रमाउनेबाहेक केही नभएको उनी टिप्पणी गर्छन् । सिनेमा उद्योगलाई दिग्भ्रमित बनाउने कार्य स्वयं चलचित्रकर्मीले नै गरेको उनी बताउँछन् । कृत्रिमता चलचित्र प्रदर्शनको पहिलो दिनदेखि नै सुरु हुने उनको भनाइ छ ।

“५१औँ दिन मनाउने सुरुआत प्रदर्शनको पहिलो दिनबाटै सुरु हुन्छ । मेरो सिनेमा हिट हुनुपर्छ भन्ने माइन्डसेट हुन्छ । नहुने देखियो भने बक्सअफिस रिपोर्ट बाहिर आउने सम्भावना रहेकाले आफ्ना आफन्त, ससुराल, माइतमावलीमा मात्रै भए पनि खतरा चलचित्रकर्मी हो भनेर देखाउन सुरुको दिनदेखि नै कृत्रिम काम भइरहेको छ,” दीपक भन्छन् ।

बक्सअफिस थोरै देखिए पनि ५१ र १०१औँ दिन मनाएको विषयलाई काट्न नसकिने भएकाले केही चलचित्रकर्मी यसको पछाडि लागेको दीपक बताउँछन् ।

यो कृत्रिमतालाई साथ र बढावा दिने कार्य केही सिनेमा हलले नै गरिरहेको उनी आरोप लगाउँछन् । आफूलाई नेपाली चलचित्र उद्योगको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्नेहरूमध्ये नै केहीले यसलाई मलजल गरिरहेको उनको गुनासो छ ।

“एउटा/दुईटा शो मात्रै भए पनि टिकाइदिन निर्माताले आग्रह गर्ने गरेका छन् । चलचित्र हेर्न दर्शक नआए पनि निश्चित अमाउन्ट म तपाईंलाई दिन्छु, तर शोचाहिँ ननिकाल्दिनुस् भन्ने गरेका छन्,” दीपक प्रस्ट पार्छन्, “तोकिएका केही हलमा छन्, जसमा यस्तो चल्छ । दर्शक नजाने अपायक हलमा यस्तो भइरहेको छ । ५१औँ वा १०१औँ दिन मनाएका सिनेमा बीचमा चार/पाँच दिन उत्रिएका पनि हुन्छन् ।” सिनेमा हलमा नरहे पनि पोस्टर ननिकाल्न आग्रह गरेर राख्ने गरेको उनी सुनाउँछन् ।

दीपक व्यंग्य गर्दै भन्छन्, “५१औँ दिन नमनाएको चलचित्र छक्का पञ्जा–५ मात्रै हो । अरू धेरै सिनेमाले ५१औँ दिन, १०१औँ दिन मनाए । मेरो चलचित्र ४० दिनमा धेरै हलबाट उत्रियो । मेरो आफ्नै हलमा मनाउने विकल्प थियो । तर, यो कृत्रिमतातिर नलागौँ भनेर मैले आफ्नै हलबाट पनि उतारेँ ।”

यो खराब ट्रेन्डलाई प्रश्रय दिन हुँदैन भनेर आफ्नै हलमा ५१ दिनसम्म चलाउने सुविधा हुँदाहुँदै पनि त्यसो नगरेको उनी बताउँछन् ।

नेपाली चलचित्र क्षेत्रमा ठूलठूलो परिवर्तन ल्याएको मै हुँ भन्नेहरूले पनि हललाई पैसा बुझाएर ५१औँ दिनको सर्टिफिकेट लिने गरेको उदाहरण रहेको उनी सुनाउँछन् ।

वर्तमान पुस्ता आफ्नो चलचित्र चलेन भन्न स्वीकार गर्न नै तयार नरहेको दीपकको अनुभव छ । चलचित्र नचले पानी परेर, आन्दोलन भएर अथवा बलिउडको ठूलो सिनेमा आएर भन्नेहरू यहाँ धेरै रहेका उनको भनाइ छ ।

आफ्नो चलचित्रले दर्शक तान्न सकेन अथवा प्रचार सामग्री प्रभावकारी भएन भनेर स्वीकार्न कोही तयार नभएको उनी बताउँछन् । “दुई करोड पनि ग्रसकलेक्सन नगरेको चलचित्रलाई ५१ दिनसम्म तन्काएर घरमा ट्रफी राख्छौँ । घरमा आउने पाहुनालाई देखाएर देखाएर आत्मरतिमा रमाउछौँ,” उनी भन्छन्, “हुनसक्छ, नयाँ निर्मातालाई त्यही ट्रफी देखाएर अर्को चलचित्रका लागि लगानी खोज्न त्यही प्रयोग गरिन्छ ।”

चलचित्रबारे केही जानकारी नभएको व्यक्तिलाई ५१ र १०१ दिन मनाएको ट्रफी र समाचार देख्दा विश्वास गर्ने वातावरण पनि हुुने दीपकको भनाइ छ ।

बक्सअफिस रिपोर्टमा सबैको पहुँच हुँदैन । र, आइडिया पनि नहुने भएकाले त्यो कतिपयलाई विश्वास गरेर लगानीकर्ता आकर्षित गर्ने राम्रो उपाय भएको उनी टिप्पणी गर्छन् ।

दीपकको आफ्नै सिनेमा हल आईएनआई सिनेमाज् बानेश्वरमा पनि शो टिकाइदिन अनुरोध आउने गरेको उनी सुनाउँछन् । “म आफैँ सिनेमाकर्मी भएकाले यसलाई थाहा हुन्छ भनेर मसँग त डिल गर्दैनन्, शोमा मेरो हस्तक्षेप पनि हुँदैन,” दीपक भन्छन्, “तर, हाम्रो हलको व्यवस्थापन जसले हेर्छ, त्यहाँ हामी आफैँ मान्छे पठाइदिन्छौँ, शो राखिदिनुस् भनेर अनुरोध आउने गरेको सुनेको छु ।”

होस्टेल, कलेज र अफिस–अफिसमा नेपाली चलचित्रको टिकट फ्रीमा पुग्ने गरेको दीपकले सुनेका छन् । “मलाई नै केहीले दाइ तपाईंको सिनेमाबाहेक कतिका चलचित्रको टिकट फ्रीमा आउँछ, कतिले त पपकर्न पनि फ्रीमा दिन्छन्, तपाईंको फिल्मको टिकटचाहिँ आउँदैन ? भनेर म आफैँलाई पनि सोधेका छन्,” दीपक भन्छन्, “यसरी ५१ दिन र १०१ दिन मनाएर के अर्थ छ ? यो नेपाली सिनेमाका लागि सबैभन्दा घातक पक्ष हो ।”  

निर्देशक दीपेन्द्र लामा व्यापारिक रूपमा चलचित्रको सफलता खोज्ने तर त्यसको मानक के हो भनेर नबुझ्ने मेकरहरू रिलिज भएको दिन गनेर बसिरहेको बताउँछन् । चलचित्र घाटामा हुने तर १०१ दिन मनाएको भनेर सेलिब्रेसन गर्ने गलत संस्कार विकास भइरहेको उनी टिप्पणी गर्छन् ।

“चलचित्र घाटामा हुन्छ, तर १०१ दिन मनायो भन्ने गरिएको छ,” उनी भन्छन्, “व्यापारिक सफलता खोज्ने हो भने कति दिन मनायो भन्ने कुराले अर्थ राख्दैन, कति कमायो भन्ने कुरा महत्त्वपूर्ण हो ।” 

५० र ६० को दशकको ‘ह्याङ’मा मेकर रहेको उनी बताउँछन् । बक्सअफिसलाई सफलताको मानक मान्ने भए जसले धेरै कलेक्सन गर्छ, त्यही सिनेमा सफल भन्नेमा प्रस्ट हुनपर्नेमा उनी जोड दिन्छन् ।

“साम्बाला जो आफैँमा राम्रो चलचित्र बन्यो, उसलाई बक्सअफिसको मतलब छैन । किनभने, ऊ बक्सअफिसलाई सफलताको मानक मान्दैन,” दीपेन्द्र भन्छन्, “तर, जो बक्सअफिसलाई सफलताको मानक मान्छ, ऊ दिन गनेर कुन धेरै दिन चल्यो त्यही नै सफल भनेर बसिरहेको छ ।” 

यतिउति दिन भनेर त्यसलाई सफलता र असफलताको मानक मान्नुलाई दीपेन्द्र ५० र ६० को दशकको ह्याङ भएको टिप्पणी गर्छन् । त्यो समय नेपालमा सीमित हल थिए । ठिकठाक चलचित्र भए आफूले चाहेको समयमा हेर्न टिकट पाइँदैन थियो । त्यसैले त्यस्ता चलचित्रले ५१, १०१ दिन मनाउँथे ।

तर, अहिले अवस्था फेरियो । देशका अधिकांश ठूला सहरमा सुविधासम्पन्न मल्टिप्लेक्स छन् । एउटा सिनेमा दिनकै सयभन्दा बढी हलमा लाग्छ । सयौँ शो एकैदिन पाउँछ । यस्तो अवस्थामा व्यापारिक सफलतालाई सफल सिनेमा मान्ने भए दिन होइन, आम्दानीले अर्थ राख्ने दीपेन्द्रको भनाइ छ ।

यसको उदाहरणमा ‘पूर्ण बहादुर सारङ्गी’लाई लिन सकिन्छ । यो चलचित्रले एकैदिन ९८ हलमा ४६५ शोसम्म पाएको थियो । त्यो हालसम्मकै ऐतिहासिक हो ।

‘पूर्ण बहादुर सारङ्गी’ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । ०८१ कात्तिक २४ गते शनिबार ‘पूर्ण बहादुरको सारङ्गी’ले एकैदिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो । त्यसको एक दिनअगाडि दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो ।

तर, ‘पूर्ण बहादुरको सारङ्गी’ले एकैदिन कलेक्सन गरेको रकमजति ५१ दिनसम्म चलाइएको चलचित्रले नउठाएको पछिल्ला उदाहरण धेरै छन् । “लगानी पनि सुरक्षित नगर्ने प्रोजेक्ट थुप्रै छन्, जसले हलमा १०१ दिन मनाए भनिएको छ, ५१औँ दिन मनाए भनिएको छ,” दीपेन्द्र भन्छन्, “यस्ता प्रोजेक्टलाई कसरी सफल मान्ने ?”

सफलताको मानक के हो भनेर नबुझ्नेहरू ५१ र १०१ दिनको भ्रममा रहेका उनको टिप्पणी छ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्