
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकेका छैनन् । गएको आठ महिनायता नेपाली चलचित्रको व्यापार सन्तोषजनक छैन ।
गत वर्षको कात्तिक १५ मा रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’पछि अधिकांश चलचित्रको व्यापार ऋणात्मक छ । कलाकार दीपकराज गिरी पछिल्लो समय नेपाली चलचित्र उद्योगमा दर्शकको खडेरी रहेको बताउँछन् ।
ठूलो मात्रामा प्रचार गरिएका र केही राम्रा एकाध चलचित्रबाहेक अधिकांशमा दर्शक नरहेको उनी बताउँछन् । यसले नेपाली चलचित्रको भविष्य कमजोर देखाएको उनको भनाइ छ ।
नेपाली चलचित्र उद्योगको भविष्य कमजोर हुनुका पछाडि धेरै कारण रहेको दीपक बताउँछन् । पहिलो कारण माग र आपूर्तिबीच सन्तुलन नरहेको उनको भनाइ छ ।
“सिनेमाको संख्या नै धेरै भयो । हप्तामा एउटा सिनेमा हेर्न सकिन्छ होला । तर, यहाँ हप्तामा तीनवटा चलचित्र रिलिज हुनुपर्ने बाध्यता छ,” दीपक भन्छन्, “वर्षको ३०/३५ वटा सिनेमा धान्ने सानो चलचित्र उद्योगलाई हामी वर्षकै डेढ सय चलचित्र उत्पादन गरेर दिइरहेका छौँ ।”
नेपाली चलचित्र उद्योगमा मुख्य भूमिकामा काम गर्ने हिरोको संख्या सीमित रहेको उनी बताउँछन् । एउटै कलाकारले भ्याइ नभ्याइ गरेर काम गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ । एउटै हिरोको सिनेमा एकैदिन दुइटासम्म रिलिज गर्नुपर्ने अवस्थामा गुणस्तरीय चलचित्र दर्शकलाई दिन नसकिने दीपक प्रस्ट पार्छन् ।
“कलाकार मात्रै होइन, विषयवस्तुमा पनि खासै धेरै अन्तर छैन । झोला बोकेर विदेश जाने, सामान्य सामाजिक विषय र ठगीका विषयलाई घुमाइफिराइ देखाउने गरिएको छ,” दीपक नेपाली चलचित्रको कमजोरी केलाउँछन्, “एकैखालका कथामा कतै काले घर्ती हुन्छ, कतै घर्ती काले हुन्छ ।”
कथामा नयाँपनको अभाव, बजेटको कमी, भीएफएक्समा बजेटको सीमितताले काम गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । छोटो समयमा स्क्रिप्ट लेख्ने, छायांकनमा हतार गरेर जाने, रिलिजमा हुने हतारोले नेपाली सिनेमाको बजारलाई कमजोर बनाइरहेको दीपकको विश्लेषण छ ।
“पूर्ण बहादुरको सारङ्गीपछि १० करोडको आँकडा छोएको भनेको ‘ऊनको स्वीटर’ले मात्रै हो । यसले पनि लामो संघर्षपछि यो आँकडा छोएको हो,” दीपक अगाडि थप्छन्, “यसको पनि विज्ञापन गर्ने फरक शैली, गीतसंगीतको प्रभाव, गर्नुपर्ने सबै उपाय लगाएपछि १० करोडको आँकडा पूरा गर्न लामो समय लागेको छ ।”
पछिल्लो समय एक/डेढ हप्तामै कमाउने सिनेमाले कमाइसक्ने ट्रेन्ड रहेको उनी बताउँछन् ।
चलचित्र ‘अञ्जिला’ बायोपिक र खेलाडीको दुःखको कथा भएकाले चलेको दीपकको विश्लेषण छ । गैरदर्शकको राम्रो साथ पाउँदा यसले भने लगानी सुरक्षित गरेको उनी बताउँछन् ।
“पूर्ण बहादुरको सारङ्गीले बक्सअफिसमा आँधीबेहरी ल्यायो । तर, त्यसपछि आँधीबेहरीपछिको सन्नाटाजस्तो भयो नेपाली चलचित्र उद्योगमा । त्यसयता पूरै चकमन्न छ,” दीपक प्रस्ट पार्छन्, “त्यसयताका अधिकांश चलचित्रले लगानी सुरक्षित गर्न सकेनन् ।
नेपाली चलचित्रलाई उकास्न व्यक्ति स्वयं सचेत हुनुपर्नेमा उनी जोड दिन्छन् ।
यो दौडको खेलाडी आफैँ पनि भएकाले नैतिक जिम्मेवारी लिने उनी बताउँछन् । आफू पनि मैदानको खेलाडी भएको भन्दै उनी भन्छन्, “म पनि चलचित्रकर्मी भएकाले तिमीहरूले राम्रो गरेनौँ भन्दा पनि हामीले राम्रो गर्न सकेनौँ भन्नुपर्छ । सिनेमा उद्योगले दिएको राम्रो चिज पनि मेरो भागमा पर्छ, नराम्रो पनि मेरो टाउकोमा पर्छ । त्यसैले हामी नै चुकिरहेका छौँ ।”
चल्ने खालको चलचित्र आउँदा पनि चलाउन कठिन रहेको उनको अनुभव छ । खुट्टा तान्ने प्रवृत्तिले चल्ने खालका चलचित्र पनि मारमा परिरहेको उनी बताउँछन् ।
“हामीले त फिल्म होइन, बम नै बनायौँ झैँ गरेर कूप्रचार गर्ने गरिएको छ,” उनी भन्छन्, “अरूको चलचित्र रिलिज हुँदा ताली बजाउने संस्कार नै छैन । यसको प्रतिक्रिया कतै न कतैबाट आफ्नो चलचित्र रिलिज हुँदा पनि आउँछ ।”
आफ्नो सिनेमा चलेर उम्किएपछि भयो, अरूका चलचित्र जेसुकै हुन् भन्ने सोच नेपाली चलचित्र उद्योगमा रहेको उनले अनुभव गरेका छन् । तर, यसले दीर्घकालीन रूपमा म आफैँलाई असर गर्छ भन्ने जानकारी अधिकांशमा नरहेको उनले सुनाउँछन् ।
“गत कात्तिकदेखि गनेर डेढ वर्षसम्म अवस्था यस्तै रह्यो भने कम्तीमा १५ देखि २० वटा हल बन्द हुन्छन्, यो अहिलेको सत्य हो,” दीपक प्रस्ट पार्छन्, “हलबाट तिर्न सक्दैन, न्यूनतम चार्ज तिर्न सक्दैन, स्टाफ खर्च ठूलो हुन्छ ।”
केही वर्षअगाडिसम्म हिन्दी सिनेमा चल्ने गरेको स्मरण गर्दै दीपक अहिले बलिउडका चलचित्र नचल्ने गरेको उनी बताउँछन् । हलिउडका सिनेमाको अवस्था पनि राम्रो नरहेको र त्यस्ता सिनेमा काठमाडौंबाहिर खासै नचल्ने उनी बताउँछन् ।
“अहिले सिनेमा हलमा चल्ने भनेकै नेपाली चलचित्रले हो । नेपाली सिनेमा नै नचलेपछि कसरी धानिन्छन् हल ?,” दीपक भन्छन्, “लेखेर राख्नुस्, अर्को साल १५/२० वटा हल बन्द हुन्छन् ।”
दसैँमा आएका दुई/चारवटा सिनेमाले वर्षभरि हल नचल्ने उनको भनाइ छ । तर, सिनेमा हल नै नभए कहाँ चलचित्र चलाउने भन्ने तथ्यलाई नजरअन्दाज गरिरहेको उनले बताए ।
“सिनेमा निर्माणको ट्रयाक रेकर्ड नै राम्रो भए पनि सिनेमा हल नै नरहे कहाँ चलाउने भन्ने कुरा हामीले बुझेका छैनौँ । सबैको सिनेमा चल्नुपर्छ । सबैका सिनेमा चले भने हल बाँच्छन् । सिनेमा चले भने निर्माता बाँच्छन्,” उनी भन्छन्, “यो सोच हामीमा छैन । कृत्रिमतामा रमाउँछौँ । अझ पछिल्लो समय त नेपाली सिनेमाको टिकट बाँड्दै हिँड्छौँ ।”
नेपाली चलचित्रको टिकट क्यान्टिन, कलेज र कार्यालयमा सित्तैमा बाँड्दै हिँडेपछि अब आउँदा दिनमा राम्रा सिनेमालाई पनि समस्या हुने दीपक औँल्याउँछन् ।
राम्रो खेलाडी छ भने उसलाई खेल्न मैदान चाहिन्छ । “तपाईंको गाउँमा मैदान नै छैन भने तपाईं कहाँ फुटबल खेल्नुहुन्छ ?,” दीपक भन्छन्, “हामी चलचित्रकर्मीका लागि फुटबल मैदान भनेको सिनेमाघर हुन् । अहिले टिकट नलिई रंगशालामा मान्छे छिराइदिने हो भने भोलि पैसा तिरेर गेम हेर्न को आउँछ ? त्यस्तै हो सिनेमा पनि । सित्तैमा टिकट बाँडेपछि भोलि राम्रै चलचित्र बने पनि मान्छे हेर्न नजाने अवस्था बन्दै छ ।”
दीपकको तर्कलाई नेपाली बक्सअफिसको तथ्यांकले पुष्टि गर्छ । उदाहरणका लागि यही वर्ष जेठ महिनाको बक्सअफिस तथ्यांकलाई हेरौँ ।
जेठमा पाँच नेपाली चलचित्र रिलिज भए । ‘हेल्लो काँशिराम’, ‘के घर के डेरा : घर नं. २’, ‘नरसिंहा अवतार’, ‘जन्ते बाख्रो’ र ‘महाभोज’ जेठमा रिलिज भए ।
यी पाँच चलचित्रले जम्मा दुई करोड ९१ लाख ६६ हजार ५७२ रुपैयाँ मात्रै ग्रसकलेक्सन गरेका बक्सअफिस तथ्यांक छ । जबकि, अहिले स्टारकास्ट भएको एउटै सिनेमाको बजेट न्यूनतम साढे दुई करोडदेखि तीन करोड रुपैयाँ हुन्छ । यसको अर्थ यी सबै चलचित्रले लगानी सुरक्षित गर्न सकेनन् ।
यी पाँच चलचित्र हेर्न जम्मा एक लाख ८४ दर्शक हल गए । यो तथ्यांकले नेपाली चलचित्रको अवस्था दयनीय रहेको देखाउँछ ।
जेठमा ठूलो लगानी भएका र स्टाकास्ट रहेका ‘नरसिंहा अवतार’, ‘महाभोज’, ‘के घर के डेरा : घर नं. २’ नै चलेनन् । यी तीनमध्ये ‘नरसिंहा अवतार’बाहेक दुइटाले एक करोडको आँकडा पनि छुन सकेनन् । यसले निर्माता मात्रै होइन, सिनेमा हलको अवस्था पनि कमजोर हुँदै गएको सिनेमा हल व्यवसायी समेत रहेका दीपकको तर्कलाई पुष्टि गर्छ ।
कात्तिकयता वैशाखसम्म तीन दर्जन नेपाली चलचित्र रिलिज भए । तर, ती अधिकांश चलचित्रले लगानी सुरक्षित गर्न सकेनन् । यसको असर समग्र सिनेमाको भविष्य र हलमा देखिने दीपक प्रस्ट पार्छन् ।
किन लामो समयसम्म पनि चलचित्र चलिरहेका छैनन् भन्ने आफैँमा विश्लेषणको विषय भएको अभिनेता खगेन्द्र लामिछाने बताउँछन् । हेर्ने दर्शकले राम्रो भनेको, समीक्षा पनि राम्रो आएको चलचित्र समेत नचल्नु आफैँमा अनौठो भएको उनी बताउँछन् ।
“थाहा छैन, किन यस्तो भइरहेको छ । यो आफैँमा विश्लेषणको विषय हो । किन सिनेमा चलिरहेका छैनन् भन्ने खोजी र अध्ययनको विषय हो,” खगेन्द्र भन्छन् ।
आफैँले काम गरेका चलचित्र पनि नचलेको उनी बताउँछन् । उनले पछिल्लो समय काम गरेका चलचित्र ‘महाभोज’ र ‘के घर के डेरा : घर नं. २’ रिलिज भएका थिए । तर, यी दुवै चलचित्रले राम्रो व्यापार गर्न सकेनन् ।
“दर्शकले मन पराउँदा पराउँदै चलचित्र नचल्ने अवस्था आयो । इनिसियल अथवा सुरुका दिनमा राम्रो नचले पनि दर्शकले राम्रो भनेपछि बिस्तारै दर्शक थपिँदै गएर सिनेमा चल्थे,” खगेन्द्र भन्छन्, “तर, अहिले त दर्शक र समीक्षकले राम्रो भनेका चलचित्र चलेका छैनन् ।”
खगेन्द्र ‘पशुपतिप्रसाद’ र ‘दिमाग खराब’लाई सम्झिन्छन् । यी दुवै चलचित्र वर्ड अफ माउथ राम्रो हुँदा चलेको उनी बताउँछन् । “पशुपतिप्रसाद र दिमाग खराब पनि दर्शकले राम्रो भनेपछि बिस्तारै चलेका थिए,” उनी भन्छन्, “यस्तो अवस्था लामो समय रहे यसले नकारात्मक असर पार्छ ।”
राम्रा भनिएका र सकारात्मक प्रतिक्रिया आएका चलचित्र नचल्दा मेकरलाई निरुत्साहित गर्ने उनको भनाइ छ । “राम्रा चलचित्र नै नचल्ने भएपछि कस्तो बनाउँदा चल्छ भन्ने अन्योल हुन्छ,” निर्माता तथा निर्देशक समेत रहेका खगेन्द्र भन्छन्, “यस्तै अवस्थाले निरन्तरता पाउने हो भने निर्माता तथा निर्देशक निरुत्साहित हुने अवस्था आउँछ ।”