site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय

भक्तपुर । उपत्यकालाई विद्युत् भार कटौती मुक्त गर्ने अभियानलाई सफल पार्न नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको छ ।अभियान सुरु गरेकै दिन प्राधिकरणले बुधबार भक्तपुर नगरपालिका–२ लिवालीमा १२ वटा घरमा विद्युत् चोरी गरेर सञ्चालन गरेका लाखौँ मूल्य बराबरको विभिन्न मेसिन नियन्त्रणमा लिएको छ ।

प्राधिकरणका कर्मचारी र प्रहरीको टोलीले लिवाली क्षेत्रमा आकस्मिक विद्युत् चुहावट निरीक्षण गर्दा घरघरमा विद्युत् चुहावट गरेको पाइएको छ । कम्पपीडित बसेको टहरा, नयाँ बन्दै गरेको अधिकांश घरमा विद्युत् चुहावट गरेको पाइएको बताउँदै प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले भने, “विद्युत् चोरी गर्दै गरेका घरबाट चोरीमा प्रयोग भएका केबल (तार), पानी तान्ने पम्प, पानीको पाइप, ब्याट्री, इन्भटर, काठ चिरानमा प्रयोग गरिने मेसिनलगायतका सामान नियन्त्रणमा लिएका छौँ ।” नियन्त्रणमा लिएका सामान प्रयोग गर्ने व्यक्तिलाई नियमानुसार जरिवाना लिइने बताउँदै उनले जरिवाना नतिर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिटर नराखी विद्युत् चोरी गरेको, हुकिङ गरेर चोरी गरेको, नयाँ बन्दै गरेको अधिकांश घरमा चोरी कै विद्युत्बाट काठ चिरान गर्ने, मेसिन लगाएर पानी तान्ने, मार्बल काट्नेलगायतका काम भइरहेको पाइएको उनले बताए । भक्तपुरमा अझै पनि ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको बताउँदै शाखा प्रमुख अमात्यले चुहावटलाई शून्यमा झार्न विशेष अभियानलाई निरन्तरता दिने बताए ।

उपत्यकामा भक्तपुर जिल्ला सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला भएकाले विशेष अभियानलाई निरन्तरता दिने अमात्यले बताए ।  प्राधिकरणका अनुसार विशेष गरी भक्तपुर नगरपालिका क्षेत्रभित्र बढी विद्युत् चुहावट भएको पाइएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले माइकिङ गर्ने, सूचना तथा सन्देश प्रवाह गर्ने कामलाई समेत तीव्रता दिएको छ ।

रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:२२
प्रतिक्रिया दिनुहोस्