site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । एक साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सारका कर्मचारीको सेटिङमा भित्रिएको ३४ किलो सुनको मालिक पत्ता लगाउन नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) को टोली रातदिन खटिरहेको छ । दुबईबाट आएको सो सुन बोक्ने र ‘रिसिभ’ गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सुनको मालिक भने अहिलेसम्म फेला परेको छैन । 

यसरी आएको दुई नम्बरीको सुन मुख्य व्यापारीसम्म पुर्याउने व्यक्ति अर्कै भएको पुष्टि भएपछि ब्युरोको टोली सो व्यक्तिको खोजीमा जुटेको स्रोतले बाह्रखरीलाई जानकारी दियो । 

“दुबईबाट नेपाल भित्रिएको सुन रिसिभ गरी अर्को व्यक्तिको जिम्मा लगाउने मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेले त्यो सुन अर्कै व्यक्तिलाई दिने हो, अनि त्यो व्यक्तिले बल्ल सुन व्यापारीको हातमा पुर्याउने हो,” स्रोतले भन्यो, “पक्राउ परेका तीनजनाको बयानका आधारमा सुन व्यापारीसम्म पुर्याउने व्यक्तिको पहिचान भएको छ र उसको खोजी जारी छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो व्यक्ति पक्राउ परेपछि ३४ किलो सुनको रहस्य खुल्नेमात्रै हैन, तस्करी भएर आउने अन्य सुन पनि कहाँ पुगेको छ भन्ने रहस्य बाहिर आउने सीआईबीका एक अधिकारीले बताए ।

उनका अनुसार सेटिङमार्फत नेपाल भित्रिएको सुन प्रहरीले अहिले खोजिरहेका तिनै व्यक्तिले नेपालका केही सुन व्यापारीलाई दिने गरेका थिए ।

सीआईबीका ती अधिकारी थप्छन्, “अब एकजना मान्छे पक्राउ पर्नासाथ केही मिडिया मालिकको पनि यसमा संलग्नता रहेको रहस्य खुल्न सक्ने आशंका गरेका छौं ।तस्करीमा संलग्न रहेको अर्का व्यक्तिको नजिक पुगिसकेका छाैं । ” 

स्रोतका अनुसार भन्सारका ५ जना कर्मचारीसँगको मिलेमतोमा ३४ किलो सुन विमानस्थलबाट बाहिरिएको हो । प्रहरीले विमानस्थलको सीसीटिभी फुटेजका आधारमा पनि अनुसन्धान भइरहेको बताएको छ । 

भुटानबाट पनि सुन तस्करी
पक्राउ परेका सुन भरिया र २ जना रिसिभरको बयानबाट सुन यसअघि भुटान हुँदै पनि नेपाल छिर्ने गरेको खुलेको छ । दुबईबाट सिधै काठमाडौं आउन छाडेर सुन बोकेका भरिया  भुटान हँुदै काठमाडौं आउने गरेको ब्युरो स्रोतले बतायो । 

बोक्नेलाई संगठित अपराध मुद्दा
प्रहरीले सुन भरिया र रिसिभ गर्ने ३ जनालाई संगठित अपराधअन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालेको छ । यसअघि सुनसहित पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान विभागमा बुझाउने गरिएको थियो । तर, विमानस्थलको विशेष सेटिङमार्फत संगठित रूपमै कर छलेर नियमित सुन भित्रिएको भेटिएपछि प्रहरीले संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको हो ।

यो पनि पढ्नुहोस्
यस्तो छ विमानस्थलमा सुन ‘सेटिङ’को रहस्य, हाकिमसँग हैन तस्करसँग बिदा माग्छन् भन्सारका कर्मचारी

दुबईमा सुन भरियाको ठूलै ‘डफ्फा’, विमानस्थलमै ‘सेटिङ’ मिलाएर दैनिक भित्र्याइन्छ सुन 

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७३  १४:१८
प्रतिक्रिया दिनुहोस्