site stats
बाह्रखरी :: Baahrakhari
देश
स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण नै छैन प्रहरीसँग

काठमाडौं । सरकारले गत मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण सुरु गर्यो । यातायात व्यवस्था विभागको सर्भर बिग्रिएर बीचमा केही समय वितरण ठप्प भए पनि अहिलेसम्म करिब डेढ लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । अहिले पनि पुराना लाइसेन्सलाई स्मार्टमा रूपान्तरण गर्ने अभियान जारी रहेको विभागले जनाएको छ । 

नक्कली लाइसेन्स बनाउने प्रवृत्ति रोक्न सरकारले स्मार्ट लाइसेन्सको अवधारणा ल्याएको हो । तर, स्मार्ट लाइसेन्स पनि नक्कली बन्न सक्ने सम्भावना उत्तिकै हुन्छ । अहिलेसम्म डेढ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण भइसके पनि यस्ता लाइसेन्सको आधारिकता छुट्याउन सक्ने मेसिन सम्बन्धित निकायसँग छैन । यसका कारण काम गर्न असहज भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको गुनासो छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण नै दिएको छैन,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले बाह्रखरीसँग भने, “विभागले वितरण गरिरहेको स्मार्ट लाइसेन्स जाँच्नका लागि विशेष प्रकारको डिजिटल रिडर मेसिनको आवश्यकता पर्छ । तर, ट्राफिक प्रहरीले मेसिन अभावका कारण अहिलेसम्म कुनै रेकर्ड नै राख्न सकेको छैन ।”

यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई एउटामात्र स्मार्ट लाइसेन्स रिडर मेसिन दिएको थियो । तर, त्यो पनि प्रयोग गर्ने विधि र जडान गर्ने उपायबारे थाहा नहुँदा प्रयोगविहीन छ । स्मार्ट लाइसेन्स जाँचका लागि अत्याधुनिक मेसिनसँगै कर्मचारीलाई तालिमको पनि आवश्यकता पर्ने ट्राफिक प्रहरीले बताएको छ । तर, डेढ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण भइसक्दा पनि प्रहरीसँग यी दुवै कुरा छैन । 

यातायात व्यवस्था विभागका अधिकारीहरू भने विभागसँग पर्याप्त मात्रामा स्मार्ट लाइसेन्स परीक्षण गर्ने मेसिन भएको दाबी गर्छन् । केही मेसिन ट्राफिक प्रहरी महाशाखालाई उपलब्ध गराइसकेको र केही दिनभित्रै ट्राफिक प्रहरीको हात–हातमा मेसिन पुग्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । 

विभागले उपत्यकामा स्मार्ट लाइसेन्स बाँड्न सुरु गर्दा एक वर्षभित्रमा देशव्यापी रूपमा स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउने भनेको थियो । तर, त्यसो हुन सकेको छैन । उपत्यकामै मेसिन वितरण गर्न नसकेको विभागले अर्को वर्षभित्र विभिन्न जिल्लाबाट स्मार्ट लाइसेन्स वितरण गराउने दाबी गर्नु बेकारको कुरा भएको ट्राफिक अधिकारीहरू तर्क गर्छन् । 

विभागका प्रवक्ता पाण्डेका अनुसार स्मार्ट लाइसेन्स कार्डमा सिम कार्डमा जस्तै धातुको चिप्स जडान भएको हुन्छ, जसमा चालक र सवारीसँग सम्बन्धित डाटा राखिएको हुन्छ । स्मार्ट लाइसेन्सको डाटालाई यातायात विभाग र प्रहरीले मेसिनमार्फत हेर्न सक्छन् । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेमा त्यसैमा कारबाही भएको रेकर्ड पनि राखिन्छ । तर, ट्राफिकसँग स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन नहुँदा यो काम हुन सकेको छैन । स्मार्ट लाइसेन्सले काम सहज हुनुको साटो उल्टो अन्योल थपिएको सकडमा खटिने ट्राफिक प्रहरीहरू गुनासो गर्छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७३  १४:१०
प्रतिक्रिया दिनुहोस्