site stats
बाह्रखरी :: Baahrakhari
देश
पैसा लिन ट्याक्सी रिजर्भ गरेर खुसिबु पुगेका अपहरणकारी यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले दुई गुण्डा नाइके दिनेश अधिकारी र कुमार घैँटेलाई एक एक वर्षको फरकमा इन्काउन्टर ग¥यो । अर्का टोले दादा जश्मिन राईलाई तिघ्रामा गोली हानी नियन्त्रणमा लियो । 

यी घटनापछि पछिल्लो वर्ष काठमाडौंमा अपहरण, फिरौती तथा डकैतीका घटना भएका थिएनन् । तर, गत बिहीबार काठमाडौंको बौद्धबाट मन दोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ अपहरणमा परे । 

साथीभाइसँग रमाइलो गर्ने भन्दै घरबाट निस्केका तीनैजना रातिसम्म घर नआएपछि खोजी गर्दै जाँदा उनीहरू अपहरणमा परेको कुरा पत्ता लाग्यो, त्यो पनि उनीहरूकै साथीहरूबाट । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अपरहणमा परेका तीनैजना राति घर आएनन्, सम्पर्क गर्दा फोन अफ थियो । शुक्रबार बिहान अपहरणकारीले फोन गर्दै फिरौती मागे । 
प्रहरीका अनुसार अपरिचित नम्बरबाट फोन आयो, ‘मान्छे हाम्रो कब्जामा छन्, जीवित चाहिने भए ६ लाख चाहियो हामीले भनेको ठाँउबाट ।’ उनीहरूले परिवारका सदस्यलाई बारम्बार फोन गर्दै रकम तयार भयो कि भएन ? भनेर सोध्ने गरेका थिए । 

अपहरणकारीले बारम्बार फोन गरेपछि परिवारले महानगरीय प्रहरी वृत्त बौद्धलाई खबर गर्यो । बौद्ध वृत्तले अपराध महाशाखालाई जानकारी गरायो । परिवार र अपहरणकारीबीच बार्गेनिङ हँुदै दुई दिन बितिसकेको थियो । महाशाखाको प्रहरी टोलीले अपहरणकारीलाई पक्राउ गर्न परिवारको आवरणमा बार्गेनिङ गर्न थाल्यो । प्रहरीले ‘पैसा रेडी भयो, लोकेसन कता हो ?’ भन्दै अपहरणकारीलाई लोकेसन माग्यो ।

अपहरणकारीले परिवारका सदस्य भनेर डिल गर्ने प्रहरीलाई भन्दै थिए, ‘कतै गडबड त भएको छैन नि ?’ परिवार बनेका प्रहरीले भने, ‘ढुक्क हुनुस्, पैसा रेडी छ, कता आऊँ ?’ त्यसपछि अपहरणकारीले काठमाडौंको खुसिबुमा आउनुस् भने । प्रहरी टोली खुसिबु पुग्यो । पैसा लिने आशमा बसेका अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेपछि अपहरणकारी दुर्गाबहादुर तामाङले प्रहरीमाथि गोली चलाउन खोजे ।

प्रहरीले उनको घुँडामा गोली हानेर नियन्त्रणमा लियो । प्रहरीले तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको कुरा उनका अन्य साथीहरूलाई जनकारी थिएन, अन्य साथीहरू ठमेलमा बाँडिएर बसेका थिए । पैसा पाएपछि सबै भेला हुने योजना उनीहरुको थियो । प्रहरीले पक्राउ परेका तामाङको माध्यमबाट विशाल, सचिन, पदमबहादुरलगायतलाई नियन्त्रणमा लियो । 

प्रहरी नियन्त्रणमा रहेका उनले आफू पनि प्रहरीको कब्जाबाट भाग्न सफल भएको भन्दै तत्काल भेट्नुपर्ने बताएका थिए । त्यसपछि प्रहरीले बाँकी अपहरणकारीलाई पक्राउ गर्न सफल भएको थियो ।  प्रहरीका अनुसार अझै दुई जना फरार छन्, उनीहरूको खोजी कार्य भइरहेको छ । 

महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ परेका अपहरणकारी डकैती तथा हातहतियार मुद्दामा नवलपरासी कारागारमा बसेर छुटेका व्यक्ति हुन् । जेलमुक्त भएर काठमाडौं आएका अपहरणकारीले अपहरणमा परेकाहरूसँग सम्बन्ध बनाएर अपहरण गर्ने योजना केही समयअघि बनाएको महाशाखाका डीएसपी अजय केसीले बताए । 
केसीले भने, “यसअघि पनि डकैती तथा हातहतियार मुद्दामा जेल बसेका उनीहरूको पेसा नै यस्तै रहेछ । पहिला सम्बन्ध बनाउने, घनिष्ट बन्ने अनि अपहरण गर्ने ।”
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७३  १३:४३
प्रतिक्रिया दिनुहोस्