site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । सार्वजनिक सवारी साधनमा महिलामाथि हुने गरेको दुर्व्यवहार रोक्न नेपाल प्रहरीले थालेको अप्रेशन सेफ्टी पिनमा ७० जना कारबाहीमा परेका छन् ।

महानगरीय प्रहरीले साउन दोस्रो सातादेखि उपत्यकामा चल्ने सवारी साधनमा स्टिङ अप्रेशन सञ्चालन गरी सेप्टी पिन अभियान चलाएको थियो । अभियानअन्तर्गत हालसम्म ७० जना पुरुष कारबाहीमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । यसमध्ये ३ जना भारतीय नागरिक छन् । 

पक्राउ परेका २४ जनालाई प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ भने बाँकीलाई सम्झाई बुझाई अबदेखि यस्तो नगर्ने सर्तमा छाडिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीले उपत्यकाका तीनै जिल्लाका विभिन्न रुटमा चल्ने सार्वजानिक यातायातमा सादा पोशाकका प्रहरी परिचालन गरेको छ । यसरी परिचालन गरिएका प्रहरी अन्य यात्रुजस्तै यात्रा गर्छन् ।

उनीहरुले उभिएर सवारी गर्ने तथा हुलमुलमा सवार गर्नेहरुलाई निगरानी गरेका हुन्छन् । जब कुनै मान्छेले महिलामाथि दुर्व्यवहार गर्छ, अनि प्रहरीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीको जिम्मा लगाउँछज् । प्रहरीले पक्राउ परेको व्यक्तिको पृष्ठभूमि हेरेर कारवाही प्रक्रिया अघि बढाउने गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानिपोखरीको तथ्यांकअनुसार काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको विभिन्न रुटमा चल्ने सवारी साधनबाट महिलालाई दुर्व्यवहार गर्ने ४१ जनालाई पक्राउ गरेको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय रानिपोखरीबाट खटिएको प्रहरी टोलीले १२ जना पक्राउ गरेको छ भने ललितपुरबाट ११ जना र भक्तपुरबाट ६ जना गरी ७० जना कारवाहीमा परेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका ७० मध्ये ३७ जनाले यौनजन्य दुर्व्यवहार गरेका छन् । त्यसैगरी अश्लील हर्कत गर्ने १० जना पक्राउ परेका छन् । यस्तै महिलालाई अपशब्द प्रयोग गर्ने १० जना र पाकेटमारी गर्ने ८ जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अप्रेशन सेफ्टी पिनमा पर्नेहरु १५ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । “महिलामाथि दुर्व्यवहार गर्दा परिणाम के हुन्छ भन्ने कुरा सामान्य ज्ञान भएको मानिसलाई पनि जानकारी हुन्छ,” महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्द भन्छन्, “ज्ञान भएर पनि भिडभाडमा मौका छोप्न खोज्नेहरु धेरै देखिए । त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेका छौं । यसलाई झनै प्रभावकारी बनाउँछौं ।” यसमा यात्रु पनि सजग हुनुपर्ने उनको भनाइ छ । 

के हो ‘सेफ्टी पिन’ अप्रेशन ?
‘सेफ्टी पिन’ अप्रेशन सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि प्रहरीले थालेको एक कारबाही नै हो । सार्वजनिक सवारी साधनमा सवार गर्ने महिलाहरुलाई दुःख दिने गलत मनसाय राखेर धकेल्ने तथा नजिक टाँसिन खोज्नेलाई केही नभनी आफूसँग भएको ‘सेफ्टी पिन’ले घोचेपछि दुःख दिने व्यक्ति ‘साइज’मा आउने गरेको महिलाहरुको अनुभवलाई नै प्रहरीले अप्रेशनको नाम दिइएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १७:०८
प्रतिक्रिया दिनुहोस्