site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लामा पनि अपराध बढ्दै, झुटा उजुरीले प्रहरीलाई हैरानी

जुम्ला । कर्णालीको जुम्लामा सडक सञ्जाल जोडिएसँगै आपराधिक क्रियाकलपा पनि बढ्न थालेका छन् । कुनै बेला जिल्लाको जुनसुकै कुनामा कसैले सामान्य घटना गरायो भने जिल्लाभरि हल्ला फैलिन्थ्यो । फलानोलाई प्रहरीले पक्राउ गर्यो भनेर चर्चा हुन्थ्यो । तर, हिजोआज जुम्लामा प्रत्येक दिनजसो कुनै न कुनै घटना घटेकै हुन्छन् । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधिमा विभिन्न शिर्षकमा २०५ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१–०७२ मा विभिन्न शिर्षकमा ६७ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७२–०७३ मा ६९ वटा मुद्दा दर्ता भएका छन् भने गएको वर्षमा पनि ६९ वटा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

तीन वर्षको अवधिमा १० वटा कर्तव्य ज्यानका मुद्दा दायर भएका छन् । त्यसैगरी ६ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् । त्यसैगरी भवितव्यमा २८ वटा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । ६ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका छन् । त्यसैगरी गएको साउनयता मात्र प्रहरीले विभिन्न शिर्षकमा १० वटा मुद्दा दायर गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी डा. तपन दाहाल भन्छन्, “यातायातको पहुँचसँगै जिल्लामा विभिन्न खालका आपराधिक क्रियाकपाल हुने गरेका छन् । पहिले चोरी, सामान्य झैझगडा बाहेक अन्य अपराध हुँदैनथ्यो । तर अहिले चोरी, डकैती, जबरजस्ती करणी, हातहतियारदेखि संगठित अपराध समेत हुने गरेको छ ।”

 

झुटा उजुरीले प्रहरीलाई हैरान

जुम्लामा विकास निर्माणको कामले अहिले रफ्तार लिएको छ । बाँचुन्जेल सवारी साधन देख्न पाइँदैन ठान्ने जुम्लीका घरआँगनमा अहिले गाडी पुगेको छ । त्यहीअनुसार उनीहरुको आवश्यकता पनि बढ्न थालेको छ । तर चेतना भने उस्तै भएका कारण जुम्लामा विभिन्न खालका समस्याहरु पैदा हुने गरेका छन् । 

\"\"सामान्य विवाद भएमा पनि विरोधीलाई तह लगाउन झुटा कुरा बनाएर प्रहरीमा उजुरी दिने गरेका कारण प्रहरीलाई हैरानी हुने गरेको छ । डीएसपी दाहाल भन्छन्, “कुनै व्यक्तिगत कुरामा झगडा हुन्छ, विरोधीलाई ठिक पार्न विभिन्न झुटा कुरा बनाएर प्रहरीमा उजुरी आउँछ । उजुरी आएपछि अनुसन्धान गर्नैपर्यो, पछि प्रहरीलाई प्रयोग गरेको मात्र खुल्छ ।” 

त्यतिमात्र नभएर जिल्लाका जिम्मेवार व्यक्तिले प्रहरीलाई गलत रिपोर्टिङ गर्ने तथा सूचना दिने गरेका कारण पनि प्रहरीलाई हैरानी हुने गरेको छ । दाहाल भन्छन्, “कुनै ठाउँमा केही नराम्रो काम हुँदैछ, प्रहरीले हेरेन भन्दै मलाई फोन आउँछ, हेर्न गयो, केही हुँदैन ।”

उनले एउटा प्रसंग सुनाए, “केही दिनअघि एक जिम्मेवार व्यक्तिले संवेदनशिल क्षेत्रमा प्रहरी नै मदिरा खाएर झुमेको छ भन्ने रिपोर्ट गरे । सधैं मदिरा खाएर प्रहरी ड्युटी गर्छ भन्ने उनको गुनासोपछि राति म आफैं चेकिङमा गएँ तर जसको नाममा गुनासो परेको थियो, ती प्रहरी कहिल्यै मदिरा नपिउने रहेछन् ।”

प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १५:४८
प्रतिक्रिया दिनुहोस्