site stats
बाह्रखरी :: Baahrakhari
देश
‘आतंक’ फैलाउने चालकलाई नै सडक सुरक्षाको जिम्मा !

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने माइक्रो तथा कतिपय मोटरसाइकल चालक निकै अराजक बनेको भन्दै महानगरीय ट्राफिक महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनाललाई दैनिक २० औं गुनासा आउन थाले ।

उनलाई मात्रै होइन, उनी मातहतका अन्य प्रहरी कर्मचारीलाई पनि यस्तो गुनासा दैनिक आउन थाले । 

सडकको छेउमा हिँडिरहेका पैदलयात्रुलाई पेल्ने गरी चलाएको, बढी आवाज दिएको, ठाउँमा नरोकेको, माइक्रोभित्र उभ्याएर यात्रा गराएको, जथाभावी हर्न बजाएको लगायत यस्तै यस्तै गुनासा बढी आउन थाले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालकले ‘आतंक’ नै मच्चाएको भन्दै यस्ता चालकलाई कहिले पनि चलाउन दिन नहुनेसम्मका गुनासा प्रहरीले सुन्नुपरेको छ ।

यस्तो बेलामा ट्राफिक प्रहरीकै अघिल्तिर परे त चालक कारवाहीमा पर्ला नभए चालक पनि कारवाहीमा नपर्ने अवस्था आएपछि प्रहरीले नयाँ रणनीति बनायो । त्यो हो सडक सुरक्षाको जिम्मा नै सडकमा यसरी ‘आतंक’ फैलाउनेलाई नै दिनुपर्छ ।

‘माइक्रो चालकलाई अब कारवाही होइन, एकपटक सम्झाउँ’ भन्ने अभियान प्रहरीले सुरु गर्यो ।

उपत्यकामा चल्ने २२ सय माइक्रोबसमा ‘नो हर्न’ ‘सभ्य तरिकाले सवारी चलाऔं’ लेखिएका पोष्टर टाँस्न थालिएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रमुख डीआईजी सर्वेन्द्र खनाल भन्छन्, “उपत्यकामा चल्ने माईक्रोबस र मोटरसाईकल चालक साह्रै अराजक बने, लौन यिनीहरुलाई कारवाही नगरि भएन भन्दै दैनिक दर्जनौँ गुनासा आउन थाले । हामीले वर्षौंदेखि कारवाही गर्दा पनि सुधार नभए पनि अब एकपटक सम्झाउँ न त भनेर यो अभियान थालेका हौं ।”

एकपटक कारवाही भोगेपछि पनि चालक नसुध्रिएपछि प्रहरीले यस्तो योजना ल्याएको हो ।

उनी थप्छन्, “सडकमा चल्दै गरेका मोटरसाईकललाई रोकेर चेतना कक्षा दियौं अनि माईक्रोपार्कमै गएर चालकसँग भन्यौं, तिम्रा कारण कैयौँले दुःख पाउनुपरेको छ, भद्रगोल सडक सुधार्ने जिम्मा अब तिम्रो हो ।”

\"\"

उनका अनुसार चालकलाई सभ्य तरिकाले चलाउन अरुलाई तिमीहरुले नै सिकाउनुपर्छ भनेर भनिएको छ ।

महाशाखाका अनुसार ‘नो हर्न’ अभियान चलाएयता ३ हजार ८ सय १४ जना सवारी चालक कारवाहीमा परेका छन् । जसमा अधिकांश माईक्रोचालक ३ पटकसम्म पक्राउ पर्दै आएका छन् ।

प्रहरीका अनुसार यो अभियान अन्तर्गत करिब ७ हजार मोटरसाइकल चालकलाई सडक सुरक्षाका बारेमा जानकारी गराइएको छ । प्रहरीले सडकमा हुने दुर्घटना न्युनिकरण गर्न  यस्तो अभियान चालिएको बताएको छ ।

महाशाखाका डीआईजी खनालले यो अभियानबाट केही सुधार आउने संकेत पाएको बताउँछन् ।
उनले यो अभियान केहीदिन बाँकी रहने जानकारी दिए ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १०:३३
प्रतिक्रिया दिनुहोस्