site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय

काठमाडौं । नेपालमा विभिन्न प्रकारका ठगी गरी विदेशमा बस्दै आएका अभियुक्त नेपाल झिकाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विशेष कदम चालेको छ ।

ब्यूरोले पुराना बैंकिङ ठगीका फाइलहरु पल्टाउँदै नेपालबाहिर रहेका अभियुक्तलाई नेपाल झिकाउन कूटनीतिक पहल थालेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा ठगी गरी मुलुक बाहिर रहेका अभियुक्तलाई नेपाल झिकाउन कूटनीतिक पहल गर्नुपर्ने हुन्छ । यसका लागि इन्टरपोलको सहयोग महत्वपूर्ण हुन्छ । सम्बन्धित देशमा कूटनीतिक पहल गरी इन्टरपोलमार्फत् विदेशमा रहेका अभियुक्त ल्याउने प्रयास सुरु भएको ब्यूरोले जनाएको छ । 

तीन करोड सात लाख ७० हजार रुपैयाँ ठगी गरेर अमेरिका भासिएका कैलाश विकास बैंक पोखरा लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाललाई प्रहरीले अहिले नेपाल झिकाउन प्रक्रिया थालेको छ । बंैकको मोटो रकम ठगी गरी अमेरिका पुगेका खनालको नेपाली राहदानी रद्द गरी इन्टरपोलमार्फत उनलाई नेपाल झिकाउने काम भइरहेको सीआईबीले जनाएको छ । 

त्यसैगरी ७३ करोडभन्दा बढी ठगी गरी अमेरिकामा व्यवसाय गर्दै आएका क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका प्रबन्ध निर्देशक पवनकुमार कार्कीलाई पनि प्रहरीले नेपाल झिकाउन पहल गरेको छ । तर अमेरिकामा ठूलो व्यवसाय गर्दै आएको आधारमा अमेरिकी राहदानी लिएका कारण उनलाई नेपाल ल्याउन कठिन भएको प्रहरीको भनाइ छ । 

तत्कालिन किष्ट बैंकका सीईओ कमल ज्ञवाली पनि १५ करोड १६ लाख रुपैयाँ ठगी गरेर विदेश भासिएका छन् । उनलाई पनि नेपाल झिकाउने प्रयास सीआईबीले गरिरहेको छ । 

‘‘सर्वसाधारणको पैसा ठगेर जुनसुकै देशमा लुके पनि प्रहरीले बाँकी राख्दैन,’’ सीआईबी प्रमुख डीआईजी पुस्कर कार्कीले भने, ‘‘देशको सीमा पार गरिसकेका अभियुक्तलाई नेपाल ल्याउन केही प्रक्रिया पूरा गर्नुपर्छ, त्यो पूरा गरी उनीहरुलाई नेपाल झिकाएर कानुनी दायरामा ल्याउँछौं । त्यसमा हामी काम सुरु गरिसकेका छौं ।’’  

सीआईबीले गएको सात वर्षमा बैंकिङ कसुरका ७१ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइसकेको छ । बैंकिङ कसुर बाहेक अन्य कसुरमा चार सय ४७ जना पक्राउ परेका छन् । उनीहरुबाट ३५ अर्बभन्दा बढीको ठगी भएको अनुसन्धानबाट खुलेको सीआइबीको तथ्यांकमा उल्लेख छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १५:१२
प्रतिक्रिया दिनुहोस्