site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेन संकट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ : मोदी
फाइल तस्बिर।

हिरोसिमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन संकट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जापानको हिरोसिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, “मैले तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौँ, त्यो गर्नेछौँ ।”

१५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरेका छन् । 

युक्रेनलाई अत्याधुनिक लडाकू विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुगेका हुन् । उनी जी–सेभेन साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सम्मेलनमा सहभागी हुन हिरोसिमा पुगेका हुन् ।

मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिए । 

युक्रेनी नेताले यसअघि इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गरेका छन् । उनले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् । 

टेलिग्राममा जेलेन्स्कीले अन्तर्राष्ट्रिय लडाकु जेट गठबन्धनमा बेलायतको नेतृत्वका लागि सुनकलाई धन्यवाद दिएको बताए । 

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलसँगको छलफलका क्रममा जेलेन्स्कीले युक्रेनी कृषि उत्पादनमा निर्यात प्रतिबन्ध र जुन ५ पछि थपएिका उपायहरूको ‘अस्वीकार्यता’बारे आवाज उठाएको पनि उनले आफ्नो टेलिग्राम अकाउन्टमा बताएका छन् । 

ईयूले छिमेकी देशहरूका अतिरिक्त आपूर्तिलाई कम गर्न मद्दत गर्न धेरै युक्रेनी उत्पादनहरूको आयातमा प्रतिबन्धहरूलाई जुन ६ सम्मका लागि अनुमोदन गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्कीको व्यक्तिगत भ्रमणको निर्णयको प्रशंसा गर्दै विकासशील देशहरूसँग संलग्न हुने अवसर ‘परिवर्तनको खेल’ हुन सक्ने बताएका छन् । रासस÷एएफपी

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्