site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षाका कारण उपत्यकाको फोहाेर लैजान नरोकिने
फाइल तस्बिर

काठमाडौं । अब वर्षाको सयममा काठमाडौं उपत्यकाको फोहाेर बञ्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो । 

सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्रयाक)बाट ठेक्का लगाएर फोहाेर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्रयाक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनले भने, “मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए । इञ्जिनियर भण्डारीले भने, “असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो ।” 

पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो  छ । गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए ।  

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहाेर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहाेरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौंसम्म फोहाेर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।  

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीनवटा ठेक्का गरिएको थियो । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ । यी तीनै कम्पनीसँग विसं २०७०/७१ मा ठेक्का सम्झौता गरिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्