1686475720.jpg)
काठमाडौं । आसन्न एकदिवसीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज (आइतबार) दक्षिण अफ्रिकाबाट जिम्बाब्वे प्रस्थान गरेको छ ।
छनोटको १० दिने तयारीका लागि नेपाली टिम जुन १ मा दक्षिण अफ्रिका पुगेको थियो । तयारीका क्रममा नेपाली टिमले त्यहाँ स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई अभ्यास खेल पनि खेलेको थियो । तर, नेपालले दुवै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा स्कटल्यान्डसँग सात विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पाँच विकेट पराजित भएको थियो ।
विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र अमेरिका छन् ।
नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्नेछ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।
प्रतियोगिताका दुई समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्षको अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा हुने विश्वकपका छनोट हुनेछन् ।