
काठमाडौं । अमेरिकी गुप्तचर संस्था (सीआईए)का निर्देशक जोन र्याटक्लिफले अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणका कारण इरानको आणविक कार्यक्रम ध्वस्त भएको जानकारी दिएका छन् ।
सीआईएका निर्देशकले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै भने, “इरानका प्रमुख आणविक केन्द्रहरू ध्वस्त भएका छन् । ती पुनर्निर्माण गर्न वर्षौं लाग्ने जानकारी सीआईएले विश्वसनीय स्रोतहरूबाट गोप्य सूचना प्राप्त गरेको छ । यसको पुनर्निर्माण गर्न पर्षौंसम्म लाग्नेछ ।” उनले यो पुष्टि गर्न सकिने बताएका छन् ।
सीआईएका निर्देशकको यो भनाइले यसअघि अमेरिकी आक्रमणले इरानी परमाणु केन्द्रहरूमा खासै ठूलो असर नपरेको भन्ने संचरमाध्यमहरूको दाबीलाई खण्डन गर्ने सीएनएनले बताएको छ ।
उनले थपे, “सीआईएले अझै थप सूचनाहरू संकलन गरिरहेको छ । ”
यो भनाइ सीएनएन र अन्य समाचार माध्यमहरूले हमलाको लगभग २४ घण्टापछि तयार पारिएको रक्षा गुप्तचर एजेन्सीको प्रारम्भिक विश्लेषणको समाचार प्रकाशित गरेको एक दिनपछि आएको हो । प्रारम्भिक विश्लेषणमा अमेरिकी बमबारीले इरानको परमाणु हतियार उत्पादन गर्ने क्षमतालाई केही महिनामात्र पछाडि धकेलेको पाइएको थियो ।
ह्वाइट हाउसले यो मूल्यांकनलाई गलत भन्दै खण्डन गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलाहरूले इरानको हतियार उत्पादन गर्ने क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको बताएका छन् ।
राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गाबर्डले पनि बुधबार एक्समा पोष्ट गर्दै नयाँ गुप्तचर जानकारीले इरानको परमाणु सुविधाहरू हमलामा ध्वस्त भएको धारणालाई समर्थन गरेको बताएकी छन् । सीएनएन