site stats
बाह्रखरी :: Baahrakhari
देश
अनलाइन र टोकन प्रणाली लागु गर्न कोसी अस्पताल प्रशासनलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागु गर्न कोसी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगरस्थित कोसी अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भिड देखेपछि कोसी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट डा. रविनराज सिंहलाई सर्वसाधारणहरूलाई सजिलो र सुलभरूपमा स्वास्थ्य सेवा पुर्‍याउन निर्देशन दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोसी प्रदेश स्वास्थ्य मंत्रालयका सचिव डा. सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मंत्रालयका उच्च अधिकारीहरू सहभागी थिए ।

मन्त्री बस्नेतले कोसी अस्पतालको विभिन्न वार्डहरूको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याबारे जानकारी लिएका थिए । यसैबीच राजधानी बाहिर संघीय सरकार अन्तर्गतको विराटनगर स्थित कोसी अस्पतालमा ३३० बेड निःशुल्क गरिएको छ ।

गरिब, असहाय र विपन्न नागरिकहरूको निःशुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आईसीयू, एचडीयू र क्याबिन बाहेक ३३० बेड निःशुल्क र उपचार पनि निःशुल्क गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले घोषणा गरे ।

निःशुल्क उपचारका लागि बिरामीहरुले स्थानीय पालिका र वडा कार्यालयको सिफारिश तथा विपन्न नागरिक भएको परिचय पत्र ल्याउनुपर्ने कोसी अस्पतालले जनाएको छ । निःशुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसंख्या मंत्रालयले दिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्