site stats
बाह्रखरी :: Baahrakhari
खेल
एकदिवसीय विश्वकपका लागि पाकिस्तानले भारतको यात्रा गर्ला ?

काठमाडौं । लामो समयको प्रतिक्षापछि मंगलबार क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतमा हुने एकदिवसीय विश्वकपको तालिका सार्वजनिक गर्‍यो ।

तालिकाअनुसार भारतले आफ्नो चिर–प्रतिद्वन्दी पाकिस्तानविरुद्ध अक्टोबर १५ मा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा खेल्नेछ । तर, तालिका सार्वजनिक भइसक्दा पनि पाकिस्तानले विश्वकपका लागि भारत भ्रमण गर्नेछ भन्ने निश्चित भइसकेको छैन ।

आईसीसीले सहभागी राष्ट्रहरूलाई प्रतियोगिताको ड्राफ्ट तालिका वितरण गरेको दुई हप्तापछि विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । यद्यपि, पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले तालिका आएपछि पनि भारत भ्रमणका लागि सरकारको अनुमति आवश्यक रहेको बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भारत भ्रमणका लागि पीसीबीलाई पाकिस्तान सरकारको अनुमति आवश्यक पर्छ,” पीसीबीका सञ्चार निर्देशक सामी उल हसनले भने, “हामी दिशानिर्देशका लागि सरकारसँग छलफल गरिरहेका छौँ । अहिलेको स्थिति केही हप्ताअघि आईसीसीले हामीसँग तालिकाको ड्राफ्ट सेड्युल बाँड्दाको जस्तै अनिश्चित छ । त्यसबेला पनि उनीहरूले हाम्रो प्रतिक्रिया खोजेका थिए ।”

ind vs pak1687948974.jpg

तालिकाअनुसार पाकिस्तानले अक्टोबर ८ मा जिम्बाब्वेमा जारी विश्वकप छनोटबाट आउने प्रतियोगिताको विजेतासँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसपछि पाकिस्तानले दोस्रो खेलमा पनि विश्वकप छनोटबाट आएको दोस्रो टिमसँग खेल्नेछ । यसपछि पाकिस्तानले अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला (एक लाख ३२ हजार दर्शक क्षमताको)मा भारतविरुद्ध विश्वकपकै बहुप्रतिक्षित खेल खेल्नेछ ।

मैदानको विषयमा चिन्ता ?
पाकिस्तानले यसअघि भारतसँगको खेलका लागि हिन्दु राष्ट्रियता बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा रहेको अहमदाबादको रंगशालाको विषयमा चासो व्यक्त गरेको थियो । अहमदाबाद त्यही सहर हो, जहाँ सन् २००२ मा भएको साम्प्रदायिक हिंसामा परी करिब एक हजार जना मानिसहरूको मृत्यु भएको थियो । जसमध्ये अधिकांश मुस्लिम थिए ।

अहमदाबादपछि पाकिस्तानले अक्टोबर २० मा हुने अस्ट्रेलियाविरुद्धको खेलका लागि बेंगलुरुको यात्रा गर्नेछ । पाकिस्तानले अक्टोबर २३ मा अफगानिस्तानविरुद्ध र अक्टोबर २७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलका लागि चेन्नाईको यात्रा गर्नेछ ।

ind vs pak 21687948971.jpg

यसपछि पाकिस्तान अक्टोबर ३१ मा बंगलादेशसँग खेल्न कोलकाता पुग्नेछ । र, नोभेम्बर ४ मा न्युजिल्यान्डविरुद्ध खेल्न पुनः बेंगलुरु फर्किदा इंग्ल्यान्डसँगको खेलका लागि नोभेम्बर १२ मा कोलकाता पुग्नेछ ।

पीसीबीले मुम्बईमा खेल्ने कुरामा चिन्ता व्यक्त गरेको थियो । र, आईसीसीले पनि पाकिस्तानको चिन्तालाई सम्बोधन गर्दै पाकिस्तानको खेल मुम्बईमा राखेको छैन । यदि बाबर आजमको टिम सेमिफाइनलमा प्रवेश गरे पाकिस्तानको खेल कोलकातामा हुनेछ । र, भारत सेमिफाइनलमा प्रवेश गरे भारत र पाकिस्तान भिड्ने समीकरण नबने यो खेल मुम्बईमा हुनेछ ।

एसिया कपलाई लिएर पाकिस्तान र भारतबीच खिचातानी रहेका कारण विश्वकपको तालिका प्रतियोगिता सुरु हुन चार महिनाभन्दा कम समय बाँकी रहँदा घोषणा भएको हो । यही अगस्टदेखि सेप्टेम्बरमा हुने तालिका रहेको एसिया कपका लागि भारतले पाकिस्तानको यात्रा गर्न अस्वीकार गरेको थियो । यसको प्रतिक्रियामा पाकिस्तानले पनि भारत एसिया कपका लागि आफ्नो मुलुक नआए विश्वकप ‘बाइकट’ गर्ने धम्की दिएको थियो ।

तर, पाकिस्तान प्रतियोगिताको आयोजना अधिकार श्रीलंकासँग बाड्न तयार भएपछि यी दुईबीचको तनावले निकासा पाएको थियो ।

मैदान परिवर्तनको सम्भावना ?
हाल पाकिस्तानी क्रिकेट बोर्ड नयाँ अध्यक्ष पाउने संघारमा छ । पीसीबी व्यवस्थापन समितिका अन्तरिम प्रमुख नजम सेठीले गत साता राजीनामा दिएपछि प्रधानमन्त्रीको मनोनयनमा परेका जाका अशरफलाई पाकिस्तानको क्रिकेट प्रमुख बन्ने बाटो खुलेको छ ।

पीसीबीको निर्वाचनलाई पाकिस्तानको अदालतले रोकेको छ । तर, अशरफले आफ्नो पूर्ववर्तीले सहमति गरेको हाइब्रिड मोडललाई सम्मान गर्ने बताउँदै उपयुक्त परामर्शपछि विश्वकपमा टोली पठाउने निर्णय हुने संकेत दिएका छन् ।

पीसीबीले पनि विश्वकप तालिकाको सूची सरकारका सम्बन्धित विभागहरूलाई पठाएको छ । र, क्रिकेट नेतृत्व सरकारको निर्णय अझै पर्खिएको छ । विशेषगरी सुरक्षासम्बन्धी गम्भीर मुद्दा भएमा पाकिस्तानको खेलहरू हुने तय भएका आधिकारिक विश्वकप तालिका परिवर्तन हुने सम्भावना धेरै छ ।

pak vs ind1687948973.jpg

“यदि त्यसो भयो भने, यो अभूतपूर्व हुनेछैन,” पीसीबीका सञ्चार निर्देशक सामी उल हसनलाई उदृत गर्दै पाकिस्तानी सञ्चार संस्था डनले लेखेको छ । यसअघि पनि भारतमा हुने विश्वकपको तालिका सार्वजनिक भइसकेपछि भारत–पाकिस्तानको खेल स्थान परिवर्तन नभएको भने होइन ।

आईसीसीबाट आधिकारिक तालिका घोषणा भएपछि सन् २०१६ को विश्वकपमा बहुप्रतिक्षित भारत–पाकिस्तान भिडन्त धर्मशालाबाट कोलकातामा स्थान परिवर्तन गरिएको थियो ।

“तर, पीसीबीले विश्वकपका लागि सरकारसमक्ष दुई कुरामा अनुमतिका लागि निवेदन गरेको छ । पहिलो विश्वकपका लागि भारतको यात्रा र दोस्रो केही निश्चित मैदानमा खेल्ने अनुमति,” हसनले भने ।

विश्वकपमा सहभागिताबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा पाकिस्तानी परराष्ट्र कार्यालयले गत हप्ता प्रस्तुत गरेको कुरालाई दोहोर्‍यायो । सरकारले पाकिस्तानी क्रिकेटरहरूको सुरक्षा अवस्थालगायत विश्वकपमा सहभागितासम्बन्धी ‘सबै पक्षहरूलाई अवलोकन र मूल्यांकन गरिरहेको’ र ‘हामी हाम्रो विचार पीसीबीलाई समयमै प्रस्तुत गर्नेछौँ’, डनले पाकिस्तानको परराष्ट्र कार्यलयलाई उदृत सरकारी संयन्त्रबाट आएको प्रतिक्रियालाई लेखेको छ । पाकिस्तानी सञ्चार सञ्चार संस्था डनको सहयोगमा

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्