site stats
बाह्रखरी :: Baahrakhari
विदेश
केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु
तस्बिर : एपी ।

नैरोबी । पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाई अरू सवारीसाधन र पैदलयात्रीलाई ठक्कर दिँदा ४८ जनाको मृत्यु भएको छ । अलजजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुईजना अझै ट्रकमुनि फसेको आशंका गरिएको छ ।

केरिचो र नाकुरु सहरबीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटनाबारे स्थानीय प्रहरी कमान्डर जेफ्री मायेकले बताएका छन्, “दुर्घटनामा ३० जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ । यद्यपि,  पीडितको संख्या धेरै हुनसक्छ । तर, अहिलेसम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै, क्षेत्रीय प्रहरी कमान्डर टम ओडेराले मृत्यु हुनेको संख्या ४८ पुगेको पुष्टि गरेका छन् ।

“केरिचोतर्फ गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका स्थानीय मिनिबसहरूमा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्री र पैदलयात्रीलाई घाइते बनाएको हामीले आशंका गरेका छौँ,” मायेकले भने ।

दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भने, “मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ, एक्कासि ठोक्किएपछि म भागेँ । मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ । गाडीमुनि अन्य शव पनि थिए ।”

भारी वर्षाका कारण उद्धारकार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्