site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कतारले पोखरा सिधा उडान गर्न ६ पटक पत्राचार गर्दा पनि नेपालले जवाफ नदिएको हो ?

काठमाडौं । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा कतारदेखि पोखरा सिधा उडानका लागि गरेको पत्राचारको नेपालले वास्तै नगरेको गुनासो पोखे ।

उनको भनाइ थियो– पोखरासहितका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूले चासो राखेर नेपाल सरकारका निकायहरूमा ५–६ पटकसम्म पत्राचार गरे । तर, नेपाली पक्षबाट कुनै प्रतिक्रिया आएन । 

उनले नेपालले चासो राखेर अघि बढे पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या नरहेको बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले कतार कतारका राजदूतको भनाइमा सत्यता नरहेको दाबी गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले कतारका राजदूतको दाबी आधारहीन रहेको बताए । 

“पोखरा र भैरहवाबाट उडान गर्छु भनेर ६ पटक पत्र पठाउने र इमेल गर्ने कुरा पर भयो । औपचारिक तथा अनौपचारिक भेटमा समेत उडान गर्छु भनेको कुनै आधार छैन,” भुलले बाह्रखरीसँग भने, “यो आधारहीन कुरा हो ।”

बरु भैरहवाबाट उडान गर्न आफूहरूले पत्राचार गर्दा कतार एयरवेजले तीन पृष्ठको स्पष्टीकरण लेखेर उडान नगर्ने जवाफ दिएको भुलको भनाइ छ ।

“हामीले भैरहवाबाट उडान गर भन्दा त्यही कतार एयरवेज हो, जसले चारवटा उडानलाई तीनवटा उडानमा झारेको हो,” भुलले भने, “भैरहवाबाट उडान गर भन्दा धेरै नाटक र नौटंकी गरेको हो । अहिलेसम्म ६ पटक पत्राचार गर्ने कुरा छोड्नु, हामीले भैरहवाबाट उडान गर भन्दा उडान नगर्ने भन्दै तीन पृष्ठको स्पष्टीकरण दिएको थियो ।”

प्राधिकरण अहिले भैरहवा र पोखराबाट उडान गर्नका लागि रातदिन लागिरहेको भुलको बताउँछन् । 

“अहिलेको समयमा हामी आफैँले रातदिन उडान गर भनिरहेका छौँ । आफैँ उडान गर्छु भन्दा हामीले समन्वय नगर्ने भन्नु कुरा सोच्न सकिन्छ र ?,” उनले भने ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्