site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारविरुद्धको रिट : आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदै 

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको छ । आज उक्त रिटमा तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । 

असार २२ गते एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारविरुद्ध रिट दायर गरेका थिए । उनले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृतवको सरकार कायम रहेको ठहर गरी दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश गरेको थियो । साथै प्रधानको इजलासले निरन्तर सुनुवाइका लागि साउन ७ गतेको मिति तोकेको थियो ।

आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको  इजलासमा परेको कोसी प्रदेश सरकारविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा परेको थियो । न्यायाधीश रेग्मी र कोसी प्रदेश एमाले संसदीय दलका नेता कार्की ‘क्लासमेट’ भएकाले आफूले हेर्न नमिल्ने बताएपछि आइतबार हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले मुद्दाको फाइल अध्ययन गरेपछि संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउने कि कसरी सुनुवाइ गर्ने राय मागेका थिए । उक्त विषयमा वकिलहरूले छोटोमा राय दिएका थिए । 

निवेदक हिक्मत कार्कीसहित सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेलले समेत आफ्नो राय राखेका थिए । 

संवैधानिक इजलासमा पठाउँदा लामो समय लाग्ने र साउन २० गतेअघि मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिइसक्नुपर्ने अवस्थाका कारण छिटो सुनुवाइ सक्ने गरी पूर्ण इजलासबाट सुनुवाइ गर्ने निष्कर्ष निकालिएको सर्वोच्च स्रोतले जनाएको छ । 

न्यायाधीशद्वय माथेमा र श्रेष्ठले ‘चिया ब्रेक’पछि निर्णय दिने भनेर इजलासबाट बाहिरिएकोमा फर्किएर पूर्ण इजलासमा पठाउने आदेश सुनाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्