site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुनकाण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख गरे ।

“देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गएको लाग्छ । भ्रष्टाचारले देश गाँजेको छ । दण्डहीनता, मान्छे मारेको छ, राजनीतिक लेप लगाइदिएपछि त्यो छुट्छ,” उनले भने, “यो ठिक ठाउँमा नराखे देश अराजकतामा जान्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिरिएको भन्दै चिन्ता व्यक्त गरे । ‘ठूला मान्छे’ मुछिएपछि भ्रष्टाचारकाण्डको छानबिन बीचमै रोकिने गरेको उनको भनाइ छ ।

“एकपछि अर्को इस्यु आउँछ । भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । ललितानिवासमा पनि त्यस्तै,” उनले भने, “किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ, रोकिन्छ ।”

अहिले चर्चामा रहेको करिब क्विन्टल सुन तस्करी प्रकरण पनि त्यसै सामसुम हुने उनले जिकिर गरे । “सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ । किनभने, कोही न कोही इन्भल्भ हुन्छ,” उनले भने, “योबीचमा कति गयो होला ? यसले नेपालको सुरक्षा नाजुक छ भन्ने देखायो । यो काण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला । किन यस्तो ? माथिको मान्छे परेर हो ।” 

सुनकाण्डको छानबिन राजस्व अनुसन्धान विभागले मात्र गरिरहेकामा पनि उनले असन्तुष्टि जनाए । “सुनकाण्डमा राजस्व अनुसन्धान मात्र इनभल्भ छ, सीआईबी छैन, यो अचम्म छ,” उनले भने, “राजस्व पहिले अर्थमा हुन्थ्यो, ओलीले प्रमअन्तर्गत ल्याउनुभयो । शेरबहादुरजीले फर्काउनुपर्छ भन्नुभएको थियो, तर गर्नु भएन । अहिले प्रमले फर्काउनु भएन, अब आफैँ बुझ्नुस् । सोच्दै जाऊँ, कहाँ पुग्छ ।”

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्