site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस र माओवादीको पिछलग्गुजस्तो भयो एकीकृत समाजवादी : झलनाथ खनाल 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । हिजोदेखि सुरु स्थायी कमिटी बैठकमा उनले विद्रोह गर्दाको शक्ति पनि अहिले पार्टीमा नरहेको उल्लेख गरेका छन् ।

पार्टीका उत्साहित विद्यार्थीले समेत दिशाहीन महसुस गरिरहेको उनको बुझाइ छ । “विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा जुन उत्साह, जाँगर र अठोट थियो, आज यी क्षेत्रमा त्यो देखिँदैन । उनीहरू दिशाहीनजस्तो महसुस गरिरहेछन् । तर, अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्,” उनले बैठकमा प्रस्तुत गरेको लिखित धारणामा उल्लेख छ ।

नेकपा (एमाले)भित्र विद्रोह गरेर अलग हुँदाको जस्तो एकीकृत समाजवादीको संसदीय दल र शक्ति अहिले संघ र प्रदेश दुवैमा रहेको उनको टिप्प्पणी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौँ, आज यो पनि छैन,” उनले भनेका छन्, “विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो, त्यो पनि खुम्चिँदै गएको छ ।”

तीन क्षेत्रमा उपनिर्वाचन हुँदा समेत पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेर निरीह देखिएको उनले उल्लेख गरेका छन् ।

उनले सांसदको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । “संसद्मा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढंगले संसदीय संघर्ष भएको महसुस हुँदैन । अधिकांश सांसदले त बोलेकै सुनिँदैन,” खनालले बैठकमा भने ।

एकीकृत समाजवादी र एमालेबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकिएको उनको भनाइ छ ।

“हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ, देखाउन सकिएको छैन । हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबजकै धङधङी छ,” उनको लिखित धारणामा उल्लेख छ, “त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ । किन यस्तो भइरहेको छ ? हामीभित्र कहाँ कमजोरी छ ? कुन कमजोरीका कारणले यस्तो भइरहेको छ ? हामीले यी सम्पूर्ण कमी–कमजोरीहरूलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ । वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अर्न्तविरोध र प्रधान प्रतिद्वन्द्वीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ । तब मात्र पार्टीपंक्तिमा नयाँ उत्साह, उमंग र जोसको सञ्चार हुनेछ ।”

उनले गएको स्थानीय तह निर्वाचनको समीक्षामा पार्टी नेकपा (माओवादी केन्द्र)को पिछलग्गुजसरी अघि बढेको आरोप पनि लगाएका छन् ।

“आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गुजस्तो भएर अघि बढ्यो,” खनालको भनाइ छ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले धोका दिँदा कार्यकर्ताहरू निराश भएर एमालेतिरै फर्कने चिन्ता बढेको पनि उनले उल्लेख गरेका छन् ।

“नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो,” उनले भनेका छन्, “कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।”

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्