site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा काम गर्न १०५ देशका नागरिकले लिए श्रम स्वीकृति, सबैभन्दा बढी चिनियाँ

काठमाडौं । रोजगारी खोज्दै वर्षेनी लाखौं नेपाली विदेश जान्छन् । रोजगारी नपाएर नेपाली नै विदेश गइरहेका बेला नेपालमा काम गर्न विदेशी आउँछन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।  तर, यथार्थमा वर्षेनी करिब दुई हजार विदेशी नागरिक नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने गरेका छन् । यसमा श्रम स्वीकृति नलिई काम गर्ने भारतीयको संख्या जोडिएको छैन । 

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअनुसार नेपाली र भारतीयलाई एकअर्काको देशमा काम गर्दा श्रम स्वीकृति लिनु पर्दैन ।  यसैकारण लाखौं नेपाली भारतमा र लाखौं भारतीय नेपालमा श्रम स्वीकृति नलिई काम गरिरहेका छन् । 

तर पछिल्ला वर्षहरुमा नेपालमा सञ्चालनमा रहेका ठूला संस्थाहरुको उच्च तहमा काम गर्न आउने भारतीयहरुले भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिई काम गर्न थालेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १०५ देशका ११ हजार ७०१ जनाले श्रम स्वीकृति लिएर काम गरेका छन् । विभागका अनुसार २०७३ पुस १७ गतेदेखि २०८० साउन २९ गतेसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन् । 

पछिल्लो साढे ६ वर्षमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीमा १० हजार ३६८ जना पुरुष र १ हजार ३३३ जना महिला रहेका छन् । 

गत आर्थिक वर्ष २०७९/८० मा मात्र २ हजार ९९४ जना विदेशीले श्रम स्वीकृति लिएर नेपालमा काम गरेको विभागले जनाएको छ । उक्त वर्ष १ हजार ३६९ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६२५ जनाले श्रम स्वीकृति नविकरण गरेका थिए । 

नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने सबैभन्दा बढी विदेशी नागरिकमा चिनियाँ रहेका छन् । पछिल्लो साढे ६ वर्षको अवधिमा ८ हजार ३४० जना चिनियाँले नेपालमा काम गरेका छन् । अर्थात् नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशमध्ये ७१.२७ प्रतिशत चिनियाँ रहेका छन् । 

विभागका अनुसार श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीमा चिनियाँ पछि क्रमसः बेलायती, अमेरिकी, दक्षिण कोरियाली, भारतीय, जापानी, अष्ट्रेलियन, श्रीलंकन, जर्मन र पिलिपिनोको संख्या ठूलो रहेको छ । 

बितेको साढे ६ वर्षमा ५१७ जना बेलायती, ३७४ जना अमेरिकी, २६९ जना दक्षिण कोरियाली, २३८ जना भारतीय, २३३ जना जापानिज्, १२५ जना अष्ट्रेलियन, ११६ जना श्रीलंकन, १०८ जना जर्मन र ९२ जना फिलिपिनोले श्रम स्वीकृति लिएर नेपालमा काम गरेका छन् । 

इटाली, फ्रान्स, क्यानडा, क्यामरुन, बंगलादेश, नाइजेरिया, स्पेन, पाकिस्तान, मलेसिया, थाइल्याण्ड, नेदरल्याण्ड्स, स्वीडेन, ब्राजिल, न्युजल्याण्ड, फिनल्याण्ड, भियतनाम, भुटान, आयरल्याण्ड, टर्की, घाना, रुस, डेनमार्क, अष्ट्रिया, युक्रेन, मेक्सिको, बेल्जियम, म्यानमार, दक्षिण अफ्रिका, सिंगापुरलगायतका देशका नागरिकले पनि नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्