site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग परिसंघ र आइडिया स्टुडियोबीच उद्यमशीलता विकासका लागि समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संशाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रबर्द्धनका क्षेत्रमा सहकार्य हुने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परिसंघ सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रबर्द्धन गर्न सरकारसँग प्रभावकारीरूपमा काम गर्नुपर्ने बताए । उनले ‘ब्रेन ड्रेन’ रोक्न, उद्यमीहरूका लागि उचित वातावरण बनाउन आवश्यक रहेको जानकारी दिँदै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवाहरूलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे ।

परिसंघले अगाडि बढाइरहेको 'मेक इन नेपाल' स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबर्द्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नयाँ काम हुने विश्वास अग्रवालले गरे ।

आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा  लगानीका क्षेत्रमा नयाँ सम्भावनाहरू खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले देशमा केही गरौँ भन्नेहरूका लागि सिप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघसँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गरे ।

परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामूहिकरूपमा नयाँ काम हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्