site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘नेपाल आफ्नो योग्यताले एसिया कपमा आएको हो’ 

काठमाडौं । एसिया कप–२०२३ मा नेपाली क्रिकेट टिमले विश्व च्याम्पियन रहिसकेको महारथी क्रिकेट राष्ट्र भारत र पाकिस्तानसँग खेल्दै छ । 

अगस्ट ३० देखि सुरु हुने प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध उद्घाटन खेल खेल्दै छ । 

प्रतियोगिताको लागि बुधबार पाकिस्तान पुगेको नेपाली टिमले कराचीमा प्रशिक्षण सुरुसमेत गरिसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाकिस्तान पुगेपछि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले ‘नेपाल आफ्नो योग्यताले एसिया कपमा छनोट भएको’ प्रतिक्रिया दिए ।

“नेपाल आफ्नो योग्यताका कारण एसिया कप खेल्न यहाँ आएको हो,” पाकिस्तानमा प्रशिक्षण सेसन सुरु गरेपछि देसाईले भने, “हामीसँग हाम्रो आफ्नै यात्रा छ, केही महिनाअघि भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै यहाँसम्म आइपुग्दा हाम्रो आफ्नै कथा छ ।”

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली टिम प्रतियोगिताकै युवा टिम हो । प्रतियोगिताको उद्घाटन खेलको रूपमा रहेको नेपाल र पाकिस्तानबीचको खेल मुल्तानमा हुनेछ । 

“टिमले पछिल्लो तीन–चार महिनादेखि निकै कठिन प्रशिक्षण गरिरहेको छ । उनीहरूले इमर्जिङ एसिया कपमा भारत ‘ए’ र पाकिस्तान साहिन्ससँग खेल्ने अवसर पनि पाए । त्यहाँ नतिजा हाम्रो अनुकूल नआएको भए पनि अनुभव लिन पाए । व्यक्तिगत रूपमा म यो युवा टिमले यस प्रतियोगितामा आफूहरू किन आएको प्रमाणीत गरुन् भन्ने चाहन्छु,” देसाईले थपे ।

अगस्ट ३० मा पाकिस्तानसँगको खेलपछि भारतविरुद्धको खेलका लागि नेपालले श्रीलंकाको यात्रा तय गर्नेछ । श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ । 

एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको छ ।

जसअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरू भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

एसिया कपको १६औँ संस्करणमा नेपाल, भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्