
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् ।
समग्रमा १६–अन्डर २०० को स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुवास तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले बुधबार ६–अन्डर ६६ स्कोर गरे ।
पहिलो दिनका संयुक्त लिडर सुवासले बुधबार बोगीरहित ५–अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५–अन्डर २०१ स्कोर बनाएका छन् । एमेच्योर सद्भाव आचार्यले ५–अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३–अन्डर २०३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् ।
समग्रमा ११–अन्डर २०५ को स्कोरमा नीरज तामाङ र भुवन नगरकोटी संयुक्त रूपमा चौथो स्थानमा रहे । भुवनले दिनकै उत्कृष्ट ८–अन्डर ६४ को स्कोर दर्ज गरे । नीरजले ४–अन्डर ६८ मा खेल पुरा गरे।
भुटानका निम दोर्जी तामाङ समग्रमा ८–अन्डर २०८ सहित छैटौँ स्थानमा छन् । उनले २–अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७–अन्डर २०९ सहित दिनेश प्रजापति सातौँ स्थानमा रहने क्रममा ४–अन्डर ६८ को नतिजा निकाले ।
समग्रमा ३–अन्डर २१३ सहित शुक्रबहादुर राई, सञ्जय लामा र रवि खड्का आठौँ स्थानमा रहे । शुक्रले ३–अन्डर ६९, सञ्जयले २–अन्डर ७० र रविले १–अन्डर ७१ को स्कोर बनाए ।
लिडर राहुलले फ्रन्ट नाइनमा बोगीरहित ५–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलोदेखि तेस्रो तथा छैटौँ र सातौँ होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११औँ होलमा एक सट खेर फाल्दा १५औँ र १८औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
सुवासले फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा २–अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौँ, १२औँ र १३औँ होलमा बर्डीको सफलता प्राप्त गरे ।
सद्भावले दोस्रो, तेस्रो, सातौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ११औँ होलमा डबल बोगी खेपे । तर, लगत्तै १२औँ होलमा इगलको सफलता प्राप्त गरे भने १८औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधिसहित तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले एक लाख ८५ हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले एक लाख पाँच हजार र पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।