site stats
बाह्रखरी :: Baahrakhari
देश
गोसाइँकुण्डमा तीन लाख भेटी संकलन
फाइल तस्बिर ।

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ रुपैयाँ भेटी संकलन भएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए । भेटी रकम गणना सम्पन्न भएको र बैंक खातामा जम्मा गर्न पठाएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत संकलन भएको र त्यो नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पुर्‍याई गणना सम्पन्न भएको थियो ।

यसैगरी, गोसाइँकुण्ड जाने यात्रीबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत आठ लाख २४ हजार ७०० रुपैयाँ संकलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार २४७ भक्तजन गोसाइँकुण्ड गएको ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो ।

प्रतिव्यक्ति १०० रुपैयाँ लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट संकलन उक्त शुल्क रकम राजस्व खातामा दाखिला भइसकेको छ ।

गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिब ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर गरिरहने कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्री घटेको बताइएको छ ।

तीर्थ पुगेका भक्तजनलाई नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार संघलगायत निकायले उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार साहले जानकारी दिए ।

लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्व नै सेवन गराइएका कारण विगतको तुलनामा यस वर्ष यात्री बिरामी संख्यामा कमी आएको उनले बताए । रासस

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्