site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्लभ सुनकछुवासहित ६ जना समातिए

काठमाडौं । दुई दिनअघि प्रहरी वृत्त महाराजगञ्जको टोलीलाई एउटा सूचना आयो–टोखाक्षेत्रतिर दुर्लभ वन्यजन्तुको किनबेच भइरहेको छ । 

सो सूचना आएपछि वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाको कमाण्डमा प्रहरी टोली टोखा क्षेत्रको ‘अपरेसन’मा खटियो ।

थापाको टोलीले सूचना पाएको २४ घण्टाभित्र बिहीबार दिउँसो १ बजे टोखा नगरपालिका–५ स्थित सुनकोसी क्याफेबाट दुर्लभ सुनकछुवासहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१० का ३२ वर्षीय जयराम घिमिरे, काभ्रे नमोबुद्धका रहर तामाङ, उदयपुरको त्रियुगाका राजकुमार राई, काभ्रेकै नयाँबस्तीका सुदर्शन राई, सोहीका नारायण थामी र रुपक बस्नेत छन् ।

उनीहरूले उक्त कछुवा ३५ लाख रुपैयाँमा बिक्री वितरण गर्ने उदेश्यले बोकेर हिँडेको प्रहरीको अनुसन्धानले देखाएको छ । दुर्लभ सुनकछुवा नेपालको तराई क्षेत्रमा पाइने गर्छ । यो संसारमै दुर्लभ प्राणी मध्येमा पर्छ ।

प्रहरीले उक्त कछुवाबारे थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाएको प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

यसरी दुर्लभ सुनकछुवा काठमाडौंमा भेटिएको यो पहिलो पटक भने होइन । यसअघि ३ मंसिर २०७८ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंबाट खटिएको टोलीले टोखा नगरपालिका–७, ग्राण्डी अस्पतालनजिकैबाट सुन कछुवासहित दुईजनालाई पक्राउ गरेको थियो ।

त्यहीँ बेला उही प्रजातिको सुनकछुवासहित कालिमाटी प्रहरीले समेत चारजनालाई पक्राउ गरेको तथ्यांक प्रहरीसँग छ । यसरी संसारकै दुर्लभ मानिने सुनकछुवा पटक–पटक कहाँबाट तस्करी हुँदैछ भन्ने विषयमा वन विभागले अनुसन्धान थालेको छ ।

सुनकछुवा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा राखिएको प्रजाति हो  । प्रहरीले नियन्त्रणमा लिएको सुनकछुवा भने साइटिसमा परेको प्रजाति हो वा होइन भन्ने पुष्टि गर्न वन विभागले विधिविज्ञान प्रयोगशाला खुमलटार पठाएको वन अधिकृत शिवराम थापाले जानकारी दिए ।

“हेर्दा दुर्लभ जस्तै देखिन्छ । त्यसको पुष्टिको लागि हामीले विधिविज्ञान पठाएका छौँ,” थापाले भने । 

प्रहरीका अनुसार वन्यजन्तुको तस्करी गर्ने समूहले नेपालमा नपाइने वन्यजन्तुसमेत तस्करी गरिरहेका हुन्छन् । थापाका अनुसार प्रारम्भिक बयानमा उनीहरूले काभ्रेबाट उक्त कछुवा ल्याएको बयान दिएका छन् ।

यस्तो छ कानुनी व्यवस्था ?
वन्यजन्तुको चोरी–सिकारी तथा ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र साइटिस महासन्धिअनुसार कारबाही गरिने व्यवस्था छ ।

यसरी गैरकानुनी रूपले वन्यजन्तुको चोरी–सिकारी गर्ने, आखेटोपहार राख्ने, खरिद–बिक्री तथा ओसारपसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्