site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता
फाइल तस्बिर।

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेल चढेर आइतबार रुसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीहरूले जनाएका छन् ।

कोरोना भाइरस महामारीपछि किमको पहिलो औपचारिक विदेश भ्रमणले मस्को र प्योङयाङले प्रतिबन्धको अवज्ञा गर्ने र हतियार सम्झौता गर्ने पश्चिमाहरूको डरलाई बढावा दिएको छ ।

रिया नोभोस्ती एजेन्सीले किमको प्रस्थानको भिडियो प्रकाशित गरेको छ । र, आर्ट्योम–प्रिमोरस्की–१ स्टेसनमा ‘प्रस्थान समारोह’ आयोजना गरिएको बताएको छ । तास समाचार एजेन्सीले किमको रेल लगभग २५० किलोमिटर (१५५ माइल) सीमातर्फ गइरहेको बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फुटेजमा किमले प्राकृतिक संसाधनमन्त्री अलेक्जेन्डर कोज्लोभको नेतृत्वमा रहेको रुसी प्रतिनिधिमण्डललाई आफ्नो रेलबाट बिदाइ गर्दै रूसी मार्च ‘स्लाभियान्काको बिदाइ’ बजाइनुअघि रेल प्रस्थान गरेको देखिन्छ ।

यसअघि, आइतबार तासले किमलाई क्षेत्रीय गभर्नरबाट उपहारस्वरुप पाँचवटा विष्फोटक ड्रोन, एक टोही ड्रोन र एक बुलेटप्रुफ भेस्ट प्रदान गरिएको जनाएको थियो ।

उत्तर कोरियाको आधिकारिक नाम प्रयोग गर्दै तासले भनेको छ, “उत्तर कोरियाका नेतालाई पाँचवटा ड्रोन उपहार दिइएको छ ।”

चीन र उत्तर कोरियाको सिमानामा रहेको प्रिमोरी क्षेत्रका गभर्नरले किम जोङ उनलाई ‘बुलेटप्रुफ सुरक्षाको एक सेट’ र ‘थर्मल क्यामेराले पत्ता लगाउन नसक्ने विशेष लुगा’ पनि प्रस्ताव गरेको तासले जनाएको छ ।

उनले शनिबार भ्लादिभोस्तोकमा रूसी रक्षामन्त्रीलाई भेटेका थिए । त्यहाँ उनले हाइपरसोनिक मिसाइल प्रणालीलगायत अत्याधुनिक हतियारको निरीक्षण गरेका थिए ।

मङ्गलबारदेखि सुरु भएको रूसको सुदूर पूर्वी क्षेत्रको किमको विस्तारित भ्रमण सैन्य मामिलामा केन्द्रित भएको अनुमान गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनसँग राइफलको सांकेतिक आदानप्रदान र कोम्सोमोल्स्क–अन–अमूरमा लडाकु जेट कारखानाको भ्रमणबाट यसलाई थप प्रमाणित गर्न आधार दिन्छ ।

मस्कोले युक्रेनमा युद्ध जारी राख्न उत्तर कोरियाली गोलाबारुद खरिद गर्न इच्छुक रहेको विश्वास गरिन्छ । प्योङयाङले आफ्नो अन्तर्राष्ट्रियस्तरको निन्दा गरिएको क्षेप्यास्त्र कार्यक्रम विकास गर्न रूसको सहयोग चाहेको छ ।

क्रेमलिनले कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नगर्ने बताएको छ । किमले आइतबार भ्लादिभोस्तोकमा अध्ययनरत उत्तर कोरियाली विद्यार्थीसँग पनि भेटवार्ता गरेका थिए ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले अधिकारीहरूलाई उद्धृत गर्दै किमको भ्रमणको माहोललाई ‘उत्कट र न्यानो’ भन्दै उत्तर कोरिया र रूसबीच ‘मित्रता, ऐक्यबद्धता र सहयोगको नयाँ युग’ सुरु हुन लागेको जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्