site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनसँग नेपालले लिएको अडान कुन : ‘एक चीन नीति’ कि ‘एक चीन सिद्धान्त’ ? 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणसँगै नेपाल ‘एक चीन नीति’ र ‘एक चीन सिद्धान्त’ मध्ये केमा अडिग हो दुविधा बढाएको छ । उनी आठ दिने चीन भ्रमण सकेर शनिबार नेपाल फर्किइसकेका छन् ।

‘नीति’ र ‘सिद्धान्त’मा धेरै भिन्नता छ । तर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला जारी भएका विज्ञप्ति तथा संयुक्त विज्ञप्तिमा कतै ‘एक चीन नीति’ त कतै ‘एक चीन सिद्धान्त’ उल्लेख गरिँदा दुविधा बढाएको हो । 

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीबीच द्विपक्षीय बैठक बसेको भोलिपल्ट असोज ९ गते नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘एक चीन सिद्धान्त’ उल्लेख गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाल पक्षले एक चीन सिद्धान्तमा दृढ प्रतिवद्धता दोहोर्‍याएको छ । चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैधानिक सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी स्वीकार गर्दै नेपाली पक्ष ‘ताइवानको स्वतन्त्रता’ को विरुद्धमा छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ । 

यसभन्दा अघि नेपालले चीनका सम्बन्धमा जारी गरेका विज्ञप्ति तथा संयुक्त विज्ञप्तिमा कहिल्यै पनि ‘एक चीन सिद्धान्त’ भनिएको थिएन । 

नेपालले प्रयोग गर्ने शब्दावली ‘एक चीन नीति’ थियो ।  प्रधानमन्त्री प्रचण्डको भ्रमणमा जारी भएको संयुक्त विज्ञप्तिमा ‘नीति’को ठाउँमा ‘सिद्धान्त’ राखिएको छ । यस्तो पहिलो पटक भएको हो । बेइजिङबाट संयुक्त विज्ञप्ति जारी गर्नु तीन दिनअघि असोज ६ गते प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । 

सीसँग भेटवार्ता भएपछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले एक चीन नीतिमा प्रतिवद्धता दोहोर्‍याएको उल्लेख गरिएको छ ।

“हाङ्जाओमा प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीच घनिष्ठ मित्रता, असल छिमेकी र सौहार्दतामा आधारित द्विपक्षीय सहयोगप्रति खुशी व्यक्त गर्नुभयोे । उहाँले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक विकासमा चीनको समर्थन व्यक्त गर्नुभयो,” राष्ट्रपतिसँगको भेटपछि नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीन भ्रमणबाट फर्किदा शनिबार प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति–विशिष्ट कक्षमा प्रेस–नोट आफैँले वाचन गरेका थिए ।  वाचन गरिएको प्रेस–नोटमा कतै पनि ‘एक चीन सिद्धान्त’ उल्लेख गरिएको छैन । प्रेस–नोटमा ‘एक चीन नीति’ एक ठाउँमा मात्र उल्लेख भएको छ ।

“नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ । सो विषयलाई पुनर्पुष्टि गर्दै नेपाल चीन बीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानूनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ उचाइमा लैजाने दिशातर्फ दुबै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो,” प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका उपलब्धी सुनाउँदै भने । 

चीन भ्रमणका बेला जारी भएको एउटा मात्र कागजात (संयुक्त विज्ञप्ति)मा ‘एक चीन सिद्धान्त’लाई स्थान दिइएको छ । नेपालले मात्र जारी गर्ने कागजातमा भने ‘एक चीन नीति’ लेखिएको छ । 

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच असोज ८ गते बेइजिङमा द्विपक्षीय बैठक भएको थियो ।  बैठकपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने ‘एक चीन नीति’ को ठाउँमा ‘एक चीन सिद्धान्त’ उल्लेख गरिएको छ ।

“नेपाल एक चीन सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध छ, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न चीनलाई समर्थन गर्दछ र कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिका लागि नेपालको भूमि प्रयोग गर्न अनुमति दिँदैन,” चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

परराष्ट्र मामिला जानकार तथा पूर्व राजदूत दिनेश भट्टराई ‘नीति’ र ‘सिद्धान्त’बीच धेरै भिन्नता हुने बताउँछन् । 

“‘सिद्धान्त’लाई संविधान मान्ने हो भने ‘नीति’ कानून हो । मूल कानून संविधान हुने भएकोले मूल कानूनसँग बाझिने सबै कानून बदर हुन्छन्,” भट्टराईले बाह्रखरीसँग भने, “नीतिबाट सिद्धान्तमा जानु भनेको चीनको विश्वास घट्नु हो ।” 

नेपाल ‘असलंग्न परराष्ट्र नीति’ बाट दायाँबायाँ हुन खोजेको आशंका चीनलाई परेको उनको बुझाई छ । चीनको गतविधिले त्यसैको संकेत गर्ने उनले जनाए ।  नेपालको गतिविधिलाई लिएर शंका लागेपछि चीन ‘नीति’ छोडेर ‘सिद्धान्त’मा गएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्