site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनुवाइ अघि बढेपछि रिगलविरुद्धको रिट हेर्न नमिल्नेमा : कात्तिक १४ को पेसी, अर्को पूर्ण इजलास गठन हुने

काठमाडौं । हत्या अभियोगमा जेल सजाय पाएर कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरूद्धको रिटको सुनुवाइ रोकिएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो प्रकारको मुद्दामा यसअघि महान्यायाधिवक्तालाई कैद मिनाहाको अधिकार रहेर फैसला गरेका न्यायाधीशबाट सुनुवाइ हुन नसक्ने जिकिरपछि अर्को पूर्ण इजलास गठन गरी सुनुवाइ हुनेगरी रोकिएको हो । 

अन्तिम सुनुवाइ हुनेगरी बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलालासमा सुनुवाइ सुरु भएको थियो । महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बहस गरेका सहन्यायाधिवक्ता सूर्यराज दाहालले प्रधानन्यायाधीशसहितले यसअघि यस्तै प्रकृतिको मुद्दामा आदेश गरिसकेको भन्दै प्रश्न उठाएका थिए । 

उनले ४० प्रतिशत कैद भुक्तान गरेका अभियुक्तलाई महान्यायाधिवक्ताले कैद मिनाहा दिन मिल्ने भन्दै सर्वोच्चले नै आदेश दिएको भन्दै नजिरहरू प्रस्तुत गरेका थिए । त्यसपछि न्यायाधीशहरूले सुनुवाइ रोकेर कात्तिक १४ को पेसी तोकेका हुन् । 

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अब उक्त रिटको सुनुवाइका लागि छुट्टै पूर्ण इजलास गठन हुने र त्यसमार्फत सुनुवाइ हुने जानकारी दिए । 

रिगलले हत्या गरेका चेतन मानन्धरकी तत्कालीन श्रीमती भारती शेर्पाका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा अधिवक्ता शंकर कटुवालले बहस गरेका थिए ।

सर्वोच्चको यसअघिको आदेशमा सरकारको निर्णय प्रक्रियामा सहभागी भएका महान्यायाधिवक्ता दिनमणि पोखरेललाई आफैँ उपस्थित हुन आदेश भएको थियो । उनले बिहीबार उपस्थित भएर बहससमेत गरे । खाजा अगाडि प्रश्न उठेकोमा न्यायाधीशहरूले खाजा समय पछि मुद्दा नहेर्ने निर्णय सुनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्