site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डिभोर्स गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर जाने होइन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले कोसी प्रदेशको 'राजनीतिक डढेलो' फैलन नदिन पार्टींभित्र गम्भीर समीक्षा आवश्यक भएको बताएका छन् । आइतबार ट्विटरमार्फत धारणा सार्वजनिक गरेका महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई पद्धतिमा नहिँडाएको भन्दै फरक विचार राख्नेले पनि त्यसै गर्नु उचित नहुने बताएका छन् ।

पार्टीभित्र सल्लाह नगरी एमालेसँग भएको सहमतिप्रति उनले विमति जनाएका छन् ।

“कोसी घटनालाई डढेलो झैँ बन्न नदिन संयम र परिपक्वता राखौँ ! गणितीय जटिलता अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो– कोसीमा एमालेसहितको समाधान खोजौँ । तर, मौजुदा गठबन्धन कायमै राखेर,” शर्माले भनेका छन्, “कांग्रेस, माओवादी र एसको गठबन्धन संसद् विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो  । कांग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौँ। तर, पार्टीको संस्थागत निर्णय मान्यौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वर्तमान सत्ता गठबन्धन छोडेर अर्को गठबन्धन ठिक हुन्छ भने संस्थागत निर्णय गर्नुपर्ने उनको मत छ ।

“यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौँ । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन । तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न,” शर्माले भनेका छन्, “सल्लाहले डिभोर्स गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । पुस १० पनि नबिर्सौं ।”

गठबन्धन कायम राख्ने हो भने माअ‍ोवादीका तर्फबाट गम्भीर प्रश्न रहेको भन्दै त्यसको सम्बोधन पनि कांग्रेसको कर्तव्य हुने उनको भनाइ छ ।

“माओवादीको यक्ष प्रश्न– कोसीमा एमाले नेतृत्वको सरकार छोड्यौँ, सभामुख छोड्यौँ, कांग्रेसलाई दुईपटक ब्ल्याङ्क चेक दियौँ । तेस्रोपटकमा हामीले किन नपाउने ?,” शर्माले लेखेका छन्, “कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनुपर्ने ? यो गठबन्धन दलहरूको कि गुटहरूको ? कोसी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।”

उनले गठबन्धन कि गर्नै नहुने कि यसका राम्रा तथा नराम्रा पक्ष पनि स्वीकार गर्नुपर्ने बताएका छन् । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति स्वीकार्नैपर्ने भन्दै उनले त्यसका लागि नेतृत्वले संवाद गर्नुपर्ने उनको भनाइ छ । 

“गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो–नराम्रो सबै बेहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ । सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो,” शर्माले भनेका छन्, “गणित नै त्यस्तो छ– एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।”

उनले कांग्रेसले गम्भीर आत्मसमीक्षा पनि गर्न जरुरी रहेको बताएका छन् । “व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र साझा मत खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न,” शर्माले भनेका छन्, “जमाना बदलिएको छ, अब तपाईंहरू बदलिनुस् । हामी बदलिन तयार छौँ । पार्टीको हित तपाईं हामी बदलिनुमा सुनिश्चित छ ।”

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्