site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खुद सम्पत्ति आठ अर्ब ऋणात्मक रहेको निगमले गर्‍यो विमान खरिदको टेन्डर आह्वान

काठमाडौं । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका निम्ति टेन्डर (बोलपत्र) आह्वान गरेको छ । निगमले तीन ‘स्टल’ विमान खरिदका निम्ति ३५ दिने सूचना निकालेको हो । सूचनाअनुसार आउँदो डिसेम्बर ५ तारिखसम्म आवेदन दिइसक्नुपर्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पद सम्हालेदेखि नै विमान खरिद गरिने बताउँदै छन् । विमान अभावका कारण दुर्गमका यात्रीले समस्या भोगेको उनको भनाइ छ । सोही कारण विमान थप्नुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

खुद सम्पत्ति करिब आठ अर्ब ऋणात्मक
निगम (नेपाल एयरलाइन्स)को खुद सम्पत्ति करिब आठ अर्ब ऋणात्मक छ । गएको जेठ १४ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति’अनुसार निगमको खुद सम्पत्ति सात अर्ब ८४ करोड १५ लाख ५२ हजार ७६४ रुपैयाँ ऋणात्मक देखिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले बुझाएको प्रतिवेदनमा विभिन्न समयमा विमान खरिद गर्दाको ऋण ४८ अर्ब पुगेको उल्लेख छ ।

मन्त्रालयको तथ्यांकानुसार निगमको दीर्घकालीन ऋण ३६ अर्ब तीन करोड ९२ लाख ३६ हजार ३२४ रुपैयाँ छ । अल्पकालीन ऋण ४८ करोड ५८ हजार ६३ हजार ८२ रुपैयाँ छ । निगमको कुल सञ्चालन आय १६ अर्ब ४२ करोड १६ लाख ७९ हजार २१६ रुपैयाँ छ । कुल सञ्चालन लागत १८ अर्ब ३६ करोड सात लाख २४ हजार २६५ रुपैयाँ छ । 

आर्थिक वर्ष २०७८/७९ मा निगमको खुद नोक्सान एक अर्ब ७० करोड ३० लाख ६८ हजार रुपैयाँ थियो । २०७८/०७९ सम्मको सञ्चित नोक्सान १५ अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ ।

नेपाल सरकारलाई बुझाउनुपर्ने निगमको ऋण तीन अर्ब ६० करोड ९८ हजार र ब्याज रकम नौ करोड ५९ लाख रुपैयाँ छ ।

निगमले विभिन्न बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने ऋणको साँवा ३३ अर्ब ९३ करोड ७३ लाख र ब्याज तीन अर्ब २५ करोड ३१ लाख रुपैयाँ छ ।

नेपाल सरकारलाई तिर्न बाँकी राजस्व रकम एक करोड ६१ लाख ५७ हजार २५२ रुपैयाँ छ ।

क्षेत्री संयोजकत्वको समितिले निगमको सोल्टी होटेलमा रहेको सेयर बेचेर स्रोतको जोहो गर्न सुझाव दिएको छ । निगमको सोल्टी होटेलमा एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर स्वामित्व छ । उक्त सेयर बेचेर विमान खरिद गर्न स्रोतको जोहो गर्न सकिने समितिले सुझाव दिएको हो ।

त्यसपछि मन्त्री किराती हौसिएका हुन् । निगमले पनि आफ्नै आन्तरिक स्रोतबाट विमान खरिद गर्ने जनाएको छ ।

efmgm-1697960757.png

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्