site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अन्तरिक्षमा पहिलोपटक मुसाको भ्रूणको विकास
फाइल तस्बिर ।

टोक्यो । जापानी वैज्ञानिकले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूणको विकास भएको छ । यसले मानिसका निम्ति अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुन सक्ने संकेत दिएको छ ।

यामानाशी विश्वविद्यालयको एडभान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी (जेएएक्सए)को टिमसहितको अन्वेषकले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आईएसएसमा पठाएका थिए ।

अन्तरिक्षयात्रीले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगाले र चार दिनसम्म स्टेसनमा विकसित गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन् । बलास्टोसिस्ट त्यस्तो कोषिका हो जुन प्लेसेन्टामा विकसित हुन्छ,” वैज्ञानिकले भनेका छन् ।

शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकले भनेका छन्, “प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रूणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन ।”

उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जीनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन् ।

“यो पहिलो अध्ययनले अन्तरिक्षमा स्तनधारी फस्टाउन सक्छन् भन्ने देखाएको छ,” यामानाशी विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान संस्थान रिकेनले संयुक्त विज्ञप्तिमा भनेका छन्, “आईएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षणअन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रूणहरूको सम्वर्द्धन गरिएको विश्वमा यो पहिलो प्रयोग हो ।”

“ब्लास्टोसिस्ट सामान्य हो भन्ने पुष्टि गर्नका लागि भविष्यमा आईएसएसको सूक्ष्म गुरुत्वाकर्षणमा विकसित ब्लास्टोसिस्टलाई मुसामा प्रत्यारोपित गर्न आवश्यक हुनेछ । यसबाट मुसाले बच्चा जन्माउन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

यस्तो अनुसन्धान भविष्यमा अन्तरिक्ष अन्वेषण र औपनिवेशिक अभियानका निम्ति महत्त्वपूर्ण हुनसक्छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्